खेलकुद

नेपाललगायत मुलुकले खेल्ने विश्वकप छनोटका खेल ४ महिनापछि गराउने प्रस्ताव

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी बिस्तारसँगै देशभर खेल गतिविधि ठप्प छ । यसले आगामी वर्ष आयोजना हुने महत्वपूर्ण खेल गतिविधिलाई असर गरेको छ । यसै सन्दर्भम एशियाली फुटबल महासङ्घ (एएफसी) ले स्थगित भएको फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेल आगामी चार महिनापछि गराउने प्रस्ताव गरेको छ । यस प्रतियोगितामा नेपालले समेत छनोट खेलहरु खेल्न बाँकि रहेको छ ।

एएफसीले ती खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउन फिफासँग प्रस्ताव गरेको छ । यी खेल गत चैतमा हुनुपर्ने थियो । नेपालले अष्ट्रेलिया, चाइनिज ताईपेइ र जोर्डनसँग नेपालको आफ्नै मैदानमा छनोट खेल खेल्ने कार्य तालिका रहेको छ । त्यससमय स्थगित भएका खेल अक्टोबर ८ र १३ तथा नोभेम्बर १२ र १७ तारिखमा गर्न प्रस्ताव गरिएको छ ।

एएफसीको प्रस्ताव अनुसार नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेइ, अक्टोबर १३ मा अष्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्न सक्नेछ । तर, यसका लागि फिफाले स्वीकृति दिनुपर्छ । नेपाल विश्वकप छनोटको एसियाली समुहमा समुह बी मा रहेको छ । नेपालले हालसम्म पाँच खेलमा तीन अङ्क जोडेको छ। नेपालले चाइनिज ताइपेइलाई हराएको थियो ।