फिचर

कांग्रेसले भन्यो : विदेशबाट आउन चाहने सबैलाई घर ल्याउ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणका कारण विदेशबाट घर फर्कन चाहने सबै नागरिकलाई घर फर्कने वातावरण बनाउन सरकारसँग माग गरेको छ । नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले शनिबार विज्ञप्तिमार्फत सरकारसँग घर आउन चाहने सबैलाई घर ल्याउन आग्रह गरेका हुन् ।

विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीहरुलाई आफ्नो घर र्फकन पाउने अधिकार रहेको भन्दै उनले संख्या तोक्ने नभई आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना आवश्यक रहेको बताएका छन् । विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकहरुलाई सरकार आफैले खर्च गरेर भएपनि ल्याउनुपर्ने कांग्रेसको भनाई छ । अन्यका लागि भने व्यवस्थापनको आवश्यकता कांग्रेसले औल्याएको छ ।

विदेशबाट ल्याइएका सबैको पीसीआर विधिबाट परिक्षण गर्न र मापदण्ड अनुसार क्वारेन्टाइनमा राख्न समेत कांग्रेसले माग गरेको छ । सरकारले विदेशबाट नेपालीलाई फिर्ता ल्याउन शुरु गरिसकेको छ । यसक्रममा शुक्रबार करीव २ सय नेपाली म्यानमार र यूएईबाट घर आए । यूएइबाट आउनेमा धेरैजसो आममाफी पाएका व्यक्ति थिए । सोहीकारण उनीहरुलाई यूएई सरकारले ल्याएको हो ।