समाचार

बाइडेनले पुर्याए डेमोक्रेटिक राष्ट्रपतिय टिकटका लागि चाहिने प्रतिनिधी

न्यूयोर्क

पूर्व उपराष्ट्रपति जो बाइडेन डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिको प्रत्यासी बन्ने औपचारिकतामा एक कदम अघि बढेका छन् । बाइडेनले पार्टीको तर्फबाट उम्मेद्वारको टिकट हत्याउन चाहिने प्रतिनिधी (डेलिगेट्स) संख्या पुर्याएका हुन् ।

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति उम्मेद्वार हुन १९९१ जना प्रतिनिधीको समर्थन आवश्यक हुन्छ । गत मंगलबार सम्पन्न आधा दर्जन राज्यको प्राइमरी चुनावको नतिजासँगै बाइडेनले उक्त ‘थ्रेस होल्ड’ पार गरेका हुन् । अझै पनि केही राज्यमा मतगणना जारी छ । एपी एवं नेशलन पब्लिक रेडियोको तथ्यांक अनुसार शनिबार अपरान्हसम्मा बाइडेन पक्षका दुई हजार चार जना प्रतिनिधी चुनिएका छन् । सिनेटर बर्नी स्यान्डर्स पक्षका एक हजार ४७ जना प्रतिनिधी चयन भएका छन् ।

यी प्रतिनिधी आगामी दुई महिना पछि हुने डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मलेनमा सहभागि भइ औपचारिक रुपले राष्ट्रपतिय उम्मेद्वार चयन गर्नेछन् । बाइडेनसँग प्रतिनिधी संख्यामा उल्लेख्य पछि परेसँगै दुई महिना अघि नै उनी उम्मेद्वारी होडबाट बाहिरिएका थिए । आफु उम्मेद्वार हुन नसके पनि आफ्ना पक्षका धेरै प्रतिनिधीलाई राष्ट्रिय सम्मेलनमा सहभागि गराइ आफ्ना एजेन्डा सम्बोधनका लागि पार्टीलाई दबाब दिने भन्दै उनी प्राइमरी निर्वाचमा भने निरन्तर भाग लिइ रहेका छन् ।

अझै साढे सात सय बढि प्रतिनिधी चुनिन बाँकी नै छ । तीमध्ये पनि अधिकांश बाइडेनले नै हत्याउन निश्चित छ । बाइडेनले आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिय चुनावमा रिपब्लकिन डोनाल्ड ट्रम्पलाई चुनौती दिनेछन् । अहिलेसम्मका मतसर्भेक्षणहरु सबैमा ट्रम्पभन्दा बाइडेन अगाडि छन् ।