फिचर

विदेशबाट फर्केर बस्न चाहनेलाई होटेल तय, चारतारेदेखि पर्यटकस्तरसम्म

काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा रोकिएका व्यक्तिलाई सरकारले घर फर्काइरहेको छ । यसक्रममा नेपाल आइसकेपछि आफ्नै खर्चमा होटेलमा क्वारेन्टाइन बस्न चाहने व्यक्तिका लागि होटेलको सूचि तय भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको होटेलमा तत्कालका लागि ४७ वटा होटेल क्वारेन्टाइनका लागि तय भएका छन् ।

यसरी तय भएका होटेलमा चार तारे होटेल ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल होटल सरोवर क्वारेन्टाइनका लागि तयार भएका हुन् । ग्राण्ड काठमाडौ, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा अवस्थित छन् । यस सूचीमा चारतारे होटल ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका २७ होटल तय भएका छन ।

होटेलमा बस्ने व्यक्तिले खर्च आफै बेहोर्नुपर्छ । सरकारी क्वारेन्टाइनमा बस्ने व्यक्तिको खर्च भने सरकार आफैले बेहोर्छ । खासगरी उच्चवर्गीय परिवार, व्यापारीलगायतका व्यक्तिले होटेल प्रयोग गर्न सक्ने सम्भावनासहित होटेलको व्यवस्था गरिएको हो । खाडीबाट बेखर्ची भइ फर्कने अधिकांश व्यक्तिलाई सरकारले निशुल्क क्वारेन्टाइनमा राख्नेछ ।