फिचर

जनता समाजवादी पार्टीले दल दर्ताका लागि दियो निवेदन, डा. बाबुराम भट्टराईको वरियता कुन ? 

काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको एकिकरणपछि बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले दल दर्ता गर्ने प्रयोजनका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। नयाँ पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्ष रहने भएका छन् । पार्टीको पहिलो र दोस्रो वरियतामा उनीहरु नै रहने गरी वरियता तय गरिएको छ ।

तेस्रो वरियतामा अशोक राई, चौथोमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पाँचौ वरियतामा राजेन्द्र महतोको नाम राखिएको छ । दल दर्ताका लागि दिएको निवेदनमा डा. बाबुराम भट्टराईको नाम दोस्रो वरियतामा थियो । पछि त्यसलाई टिपेक्सले मेटेर चौथो वरियतामा झारिएको छ ।

जसपाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम एक आपसमा एकिकरण हुने सम्झौता गरेअनुसार आयोगमा दल दर्ताका लागि निवेदन दिएको हो । यी दुई दलबीच १० वैशाख मध्यरातमा एकीकरणको सहमति भएको थियो । त्यसको भोलीपल्ट नै नेताहरु निर्वाचन आयोग पुगी यसबारे जानकारी गराएका थिए । पदको भागबण्डा नमिलेका कारण निर्वाचन आयोगलाई जानकारी गराएको ४५ दिनको अवधि पुरा भएपछिमात्र जसपाको दल दर्ता प्रक्रियामा गएको हो ।

 

निवेदन दर्ता भएपछि आयोगले आगामी ४५ दिनभित्र कागजपत्र हेरे दलको मान्यता दिने वा नदिने भन्ने निर्णय गर्ने प्रावधान रहेको छ । पूर्वप्रधानमन्त्री भइसकेका नयाँ शक्ति पार्टीका अध्यक्ष तथा समाजवादी पार्टीमा समेत संयोजकको भूमिका निभाएका भट्टराईका चौथो वरियतालाई भने धेरैले उनको पतनका रुपमा व्याख्या गरेका छन् ।