समाचार

रुपन्देहीमा ५ जनाको सामुहिक हत्या, एक जना पक्राउ

फाइल तस्वीर

बुटवल । रुपन्देहीमा एक निर्मम हत्याकाण्ड बाहिर आएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा ५ जनाको सामुहिक हत्या भएको हो । प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका झसेन्द्र सिंजाली छन् । उनलाई गाउँलेले पक्राउ गरी प्रहरीमा बुझाएको बताइएको छ । गाउँलेले पक्राउ गर्दा अचेत बनेका उनको तिलोत्तमास्थित प्रिन्सन अस्पताल उपचार भइरहेको छ ।

यो घटना स्थानीय एक गाई फार्ममा भएको हो । यस फार्ममा ६ जना कार्यरत थिए । एक जनाले अन्य ५ जनाको हत्या गरेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । घटनामा माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरीको निर्मम हत्या भएको छ ।

उनीहरुको शव पोष्टमार्टम गर्न अस्पताल पठाइएको छ । प्रहरीका अनुसार आरोपित सिंजाली लागु औषधी प्रयोगकर्ता समेत भएको बताइएको छ । यद्दपी प्रहरीले घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिसकेको छैन । हत्या सोमबार राती भएको हो ।