विश्व

कोरोना कहरबीच ऐतिहासिक क्रिकेट सिरिजको तयारी

काठमाडौं । वेस्ट इन्डिज र इंल्याण्डबीच ऐतिहासिक टेस्ट सिरिजको तयारी शुरु भएको छ । कोरोना महामारीपछि पहिलो विदेश भ्रमणका सिलसिलामा वेस्ट इण्डिज क्रिकेट टिम इंग्ल्यान्ड पुगेको छ। यो टीम कोरोना भाइरसपछि विदेश भ्रमण गर्ने पहिलो अन्तराष्ट्रिय टिम बनेको हो ।

टिम मंगलबार म्यानचेस्टर पुगेको छ । कोरोना भाइरसको संक्रमणले विश्वव्यापी संक्रमणको रुप लिएपछि मार्चयता संसारभर लकडाउन भयो । सोहीकारण कुनै पनि टिमले एक अर्को मुलुकविरुद्ध खेल्न पाएका छैनन् । मंगलबार ३९ सदस्यीय वेस्ट इन्डिज टिम म्यान्चेस्टर पुगेको हो ।

जसमा २५ जना खेलाडी छन्। इंग्ल्यान्ड उड्नुअघि टोलीका सबै सदस्यको कोरोना परीक्षण गरिएको छ । नतिजा नेगेटिभ आएको छ । उनीहरू चार्टर्ड जहाज चढेर एन्टिगुवाबाट म्यानचेस्टरतर्फ लागेका थिए । इंग्ल्यान्ड पुगेका टोलीको पुनः कोरोना परीक्षण हुनेछ । उनीहरु केही समय क्वारेन्टिनमा बस्नेछन्।

इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच पहिलो टेस्ट ८- १२ जुलाईमा हुनेछ। यस्तै दोस्रो टेस्ट १६-२० जुलाई र तेस्रो टेस्ट २४-२८ जुलाईमा हुनेछ। खेल दर्शक बीनाको रंगशालामा हुनेछ ।