स्वास्थ्य

अमेरिकाको २२ राज्यमा बढ्न थाले कोरोना संक्रमित

अमेरिकामा मार्चदेखि महामारीको रुपमा सुरु भएको कोरोना संक्रमण राज्यका अर्थतन्त्र बिस्तारै खुल्दै र रंगभेद बिरुद्धको आन्दोलन चर्किदै जाँदा २२ वटा राज्यहरुमा पुन: कोरोना संक्रमण बढ्ने क्रममा देखिएको छ ।  एरिजोना राज्यमा अघिल्लो हप्ता भन्दा यो हप्ता संक्रमण ९० प्रतिशतले बढेको छ भने युटाहा र अर्कान्सासमा पनि संक्रमण दर अघिल्लो हप्ता भन्दा ६० प्रतिशतले बृद्धि  भएको छ । म्यासाच्युसेट्स, फ्लोरिडा र न्युमेक्सिकोमा अघिल्लो हप्ता भन्दा ४० प्रतिशत ज्यादा संक्रमण फैलिएको छ । मिचिगनमा अघिल्लो हप्ता संक्रमितको संख्यामा १५० प्रतिशतले बृद्धि भएको थियो । यसरी कोरोना संक्रमणमा बृद्धि हुनुमा केही हप्तादेखि देशका ५० वटै राज्यले अर्थतन्त्रलाई आँसिकरुपमा खुला गर्न थाले पछि मानिएको छ । सरुवा रोग बिज्ञहरुले पनि मिनियापोलिसमा प्रहरी कस्टडीमा मृत्‍यु  भएका जर्ज फ्लोएडको मृत्‍यु प्रकरण पछि राष्ट्रियरुपमा सुरु भएको बिरोध प्रदर्शनले अमेरिकामा पुन कोरोनाको दोश्रो ठुलो छाल आउने चेतावनी दिदै आएका छन् । यद्यपी उनिहरुले अहिले देखिएको संक्रमितको संख्यामा बृद्धि ती बिरोध प्रदर्शनको प्रभाबबाट हो वा होईन अहिले नै भन्दा हतार हुने पनि बताएका छन् ।

जुनको १ तारिखका दिन युनिभर्सिटी अफ वासिङ्टन ईन्स्टिचुटले आगामी अगस्ट ४ तारिखसम्म अमेरिकामा १ लाख ३५ हजार १ सय ९ जना मानिसको कोरोना संक्रमणका कारण मृत्‍यु हुने अनुमानित आँकडा सार्वजनिक गरेको थियो भने ईन्स्टिचुटले यो हप्ता मृतकको अनुमानित आँकडामा १० हजार बृद्धि गरेर १ लाख ४५ हजार ७ सय २८ पुर्याएको छ । यद्यपी अनुसन्धानकर्तालेहरुले के कति कारणले मृतकको संख्यामा बृद्धि गरिएको हो त्यो भने खुलाएका छैनन् । जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा बुधाबारसम्म १ लाख १२ हजारको मृत्‍यु र २० लाख मानिस संक्रमित भै सकेका छन् । मृतक र संक्रमितको यो संख्या तिन महिना भित्रको हो ।  

रेउटर्स कोभिड -१९ डाटा एनालाईसिसका अनुसार अमेरिकाको एरिजोना राज्यमा जुन ७ को सप्ताहमा अघिल्लो हप्ता भन्दा ९० प्रतिशत संक्रमण बृद्धि भएको हो ।  मिचिगनमा जुन ५ को हप्तामा १ सय ५८ प्रतिशतले संक्रमण बढेको छ । न्युमेक्सिकोमा ४० प्रतिशतले बृद्धि भएको छ भने फ्लोरिडा साउथ क्यारोलिमा नर्थ क्यारोलिनामा पनि अघिल्लो हप्ता भन्दा ३० प्रतिशत ज्यादा संक्रमित भएका थिए ।  

स्वास्थ अधिकारीका अनुसार न्युमेक्सिकोमा बढेको आधा भन्दा धेरै केश ओटेरो काउन्टी भित्रैको रहेको छ भने युटाहामा देखिएको पछिल्लो संक्रमितको ठुलो हिस्सा मासु प्रसोधन केन्द्रसँग सम्बन्धित छ । रेउटर्सको उक्त डाटा अनुसार टेक्सस राज्यमा पनि गत हप्ता अघिल्लो हप्ता भन्दा संक्रमितको संख्या १९ प्रतिशतले उकालो लागेको छ । टेक्सस डिपार्ट्मेन्ट् अफ स्टेट हेल्थका अनुसार टेक्सस राज्यमा गत सोमबारसम्म अस्पताल भर्ना हुनेको संख्या १९ सय ३५ थियो । उक्त संख्या गत महिना ५ तारिखको भन्दा उच्च हो । अमेरिकाभरका संक्रमितहरुको राष्ट्रिय संख्यामा भने ३ प्रतिशत मात्र बृद्धि भएको छ । अनुसन्धानकर्ताहरुका अनुसार लगातार ५ हप्तासम्मको गिरावट पछिको यो बृद्धि भएको हो । पेन्सलभानिया र न्युयोर्क राज्यमा भने कोरोना संक्रमितको संख्या आठ हप्तादेखि लगातार ओरालो लागि रहेको छ ।  केन्टुकीमा पनि अघिल्लो हप्ता भन्दा संक्रमितको संख्यामा ४० प्रतिशतले बृद्धि भएको छ । त्यसै गरी ओक्लोहामा ३७ नेभाडा २८ मिनियासोटा २८ जर्जियामा १८ प्रतिशतमा संक्रमित संख्यामा बृद्धि भएको छ।  

एजेन्सी