समाचार

प्रधानमन्त्रीको संसदमा २ घण्टे भाषण, अर्ति र उपदेशमा केन्द्रित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा दुई घण्टा लामो सम्बोधन गरे । उनको भाषण सदाजस्तै अरुलाई अर्ति उपदेश दिने र सरकारले कँही कतै गल्ती नै नगरेको दावीमा सिमित भयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेट र अन्य विविध विषयमा उठेका प्रश्नको जवाप दिन प्रधानमन्त्री रोष्ट्रममा उपस्थित थिए ।

करीव २ घण्टा बोलेका उनले सांसदहरुको चित्त भने बुझाउन सकेनन् । कतिपय सांसदले उनको जवाफ पटक्कै मन नपरेको समेत बताए । प्रधानमन्त्रीले कोरोना भाइरसको संक्रमणसँग लड्ने क्रममा उठेका प्रश्न र नेपाल भारत सीमा विवादबारे आफ्नो धारणा राखेका थिए । कोरोना भाइरसले नेपालमा कुने क्षति गर्न नसकेको र यसमा नेपालीको रोग प्रतिरोधात्मक क्षमताले काम गरेको प्रधानमन्त्रीका दावि थियो ।

प्रधानमन्त्री ओलीले सरकारले सावधानीका साथ लकडाउनको नीति लिएको र कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा अधिकतम उपलब्धि प्राप्त गरेको भन्दै कोरोनाविरुद्ध सरकारले जित हाँसि गरेको बताए । अन्य देशको तुलनामा नेपालमा संक्रमित हुने र मृत्यु हुनेहरूको संख्या कम भएको भन्दै उनले मृत्यु भएका १५ जनामध्ये पनि सबैले कोरोनाकै कारण ज्यान नगुमाएको उल्लेख गरे ।

डब्ल्यूएचओको प्रोटोकलका कारण मात्र कोरोनाका कारण मृत्यु भएको घोषणा गर्नु परेको समेत उनले बताए । प्रधानमन्त्रीले पछिल्लो समय संक्रमित बढेको सम्बन्धमा समेत गैर जिम्मेवार जवाफ दिए ।

नेपालमा भेटिएका संक्रमितमध्ये ८५ प्रतिशत बढी भारतबाट आएको र उनीहरू क्वारेन्टिनका कारणभन्दा पनि ट्रेनमा कोचिएर आउँदा वा यात्राको क्रममा नै संक्रमित भएको उल्लेख गरे । नेपालमा उपचार प्रभावकारी भएको र नेपालीले पचाउन सक्ने क्षमता बढी भएकै कारण यसलाई पराजित गर्न सकेको उल्लेख गरे ।