स्वास्थ्य

स्पेनिश फ्लु र कोभिड् - १९

विजय खनाल, टेक्सस 

आजभन्दा १०१ बर्ष अगाडि सन् १९१८ सालमा आएको स्पेनिश भाइरसको महामारी सम्बन्धि रोचक जानकारी पढि सकेपछि पाठकहरुलाई बिद्यमान कोरोना फिका लाग्न सक्छ ।

विश्वमा यतिवेला कोरोना भाइरस (कोविड-१९) को महामारी फैलिएको अवस्था छ । तर यस्तो महामारी यो नै पहिलो भने होइन । यस अघि बिश्वले यो भन्दा पनि डरलाग्दा महामारीहरु मानव जगतले ब्यहोरी सकेका छन् । ती मध्ये पनि सन् १९१८ मा फैलिएको महामारीलाई इतिहासकै डरलाग्दो  महामारीको रुपमा लिइन्छ । ‘स्पेनिश फ्लु’ नाम दिइएको उक्त महामारीलाई आधुनिक युगको हालसम्मकै सबैभन्दा ठुलो महामारी पनि भनिन्छ । 

प्रथम बिश्वयुद्धको अन्त्य हुँदैगर्दा सन् १९१८ मा यो रोग बिश्वब्यापी रुपमा फैलिसकेको थियो । रोगले उग्ररुप लिइ सकेपनि बिश्वयुद्ध लडि रहेका सैनिकहरुको मनोबल गिर्छ र उनिहरुले युद्धस्थल छोडेर भाग्न सक्ने भयले गर्दा कुनै देशले पनि यसलाई प्रचारमा ल्याएनन् । आफ्नो देशमा ब्यापक महामारी फैलिसकेपछि स्पेनले सर्बप्रथम यसको जानकारी गराएपछी यसको नाम SPAIN’s FLUE (स्पेनिश फ्लु) रहन गयो । जवकी यो रोग स्पेनबाट जन्मिएकै थिएन । 

अहिलेसम्म देखिएका कोरोना भाइरसका सबै लक्षणहरु फोक्सोबाटै शुरुभएको देखिए जस्तै रुघा, खोकी, ज्वरोबाट शुरु हुने स्पेनिश फ्लुमा सास फेर्न गाह्रो हुने, फोक्सोमा संक्रमण हुने, नाक-कानबाट रगत बग्ने, सम्पूर्ण शरिरको हड्डी नै टुटेको जस्तो गरी शरिरभरी अत्यन्त पिडा हुने, शरिर पहिले निलो-त्यसपछि भान्टा रंगको र अन्तिममा कालो रंगको भएर मानिसको मृत्यु हुन्थ्यो। 

आधुनिक युगमा देखापरेको यो स्पेनिश फ्लुबाट हालसम्मकै सबैभन्दा धेरै मानिसहरुको मृ्त्यु भएको मानिन्छ । यद्यपी मृत्युको यकिन तथ्यांक स्पष्ट छैन । कसैले १०-२० करोड भनेका छन् भने कसैले ५-१० करोड भनेका छन् । नेपाल लगायत बिश्वका धेरैजसो देशहरु त्यतिबेला अबिकशित, यातायात र सञ्चार सम्पर्कबाट बिच्छेद अबस्थामा थिए । अत: बिश्वका सबै मुलुकहरुको तथ्यांक नभएका कारण त्यस्तो भएको हुनसक्छ । भनिन्छ; ‘त्यतिबेलाको बिश्व जनसंख्याको औषतमा छ प्रतिशत मानिसको मृत्यु भएको थियो। भारतमा मात्र एक करोड असी लाख मानिसको मत्यु भएको थियो । त्यतिबेला दश करोड पचासलाख जनसंख्या भएको अमेरिकामा छ लाख पचहत्तर हजारको मृत्यु भएको थियो । 

यो भाइरसबाट भारतमा २०.०६ प्रतिशतको मृत्यु भयो भने ब्रिटेनमा मृत्युदर ४.४ प्रतिशत रह्यो। प्रथम बिश्वयुद्ध लडेर भारतीय सैनिकहरु पानी जहाज मार्फत बम्बई बन्दरगाहमा ओर्लिए । त्यस मध्ये ७ सैनिकलाई रुघा खोकीको जस्तो लक्षण देखियो । उनिहरुलाई अस्पताल भर्ना गरियो । भारतमा स्पेनिश फ्लुको यो पहिलो घटना थियो जवकी त्यति बेलासम्म सारा बिश्वमा यो फैलिसकेको थियो । भारतमा यस रोगबाट पुरुष भन्दा महिला धेरै संक्रमित भएका थिए। यसको दुइवटा कारण थियो । पहिलो; पुरुषको तुलनामा महिलाहरुलाइ सन्तुलित भोजन कम मिल्थ्यो अर्को; संक्रमितहरुको रेखदेखमा महिलाहरुनै खटिनु पर्थ्यो । जसले गर्दा उनिहरुलाई संक्रमणको जोखिम ज्यादा थियो । भारतको पछिल्लो एकसय बिस बर्षको इतिहासमा आर्थिक मन्दि यति धेरै गिर्यो कि १९१८ मा त्यहाँको आर्थिक बृद्धिदर -१०.०८ (माइनस १०.०८) प्रतिशतमा झर्यो । मुद्रा स्फिति पनि ज्यादै नराम्ररी गिर्यो। THE GREAT INFLUENZA नामक कितावका लेखक JOHN BERRY ले लेखेका छन्; भारतमा स्पेनिश फ्लुबाट जम्मा एक करोड असी लाख जनाको मृत्यु भयो । भारतका सहरदेखि गाउँसम्म जताततै लाशहरुको ढेर लागेको थियो । कैयौं मानिसहरु हिंड्दा-हिंड्दै बाटैमा मर्थे भने ट्रेनमा चढेका यात्रुहरु गन्तव्यमा नपुग्दै ट्रेनभित्रै लासको खात लागेको हुन्थ्यो । सन् १९१८ अक्टोबर ६ तारिख एकै दिन बम्बैको ट्रेन स्टेशनमा मात्रै ७६८ जनाको मृत्युभएको थियो। त्यही बर्ष भारतमा अत्यन्त ठुलो सुख्खा परेको कारण भयाबह रुपमा भोकमरी पनि भएको थियो ।

त्यतिबेला भारतीय मुक्ति संग्रामका योद्धा माहात्मा गांधीलाई पनि यो रोग लागेको थियो तर निको भयो। गांधीका छोरा, बुहारी गुलाव र नातिनी शान्तीको यसै रोगका कारण मृत्यु भएको थियो । महान साहित्यकार प्रेमचन्दलाई पनि यो रोग लागेको थियो । भनिन्छ; ‘गांधीजीको यो रोगका कारण मृत्यु भएको भए सायद भारत बृटिश उपनिवेशबाट त्यति छिटो स्वतन्त्र हुने थिएन होला। अर्कोकुरा स्पेनिश फ्लु, ब्यापक सुख्खा र भोकमरीका कारण भारतमा यति धेरै तहस-नहस र उथल-पुथल भयो कि जनताहरु स्वतन्त्रता संग्राममा होमिन स्वस्फुर्त तयार भए । 

अन्तत; संसारभरी करिव पाँचदेखि सात करोड मानिसको ज्यान लिएर सन १९२० मार्च अर्थात बिसं १९७६ फाल्गुणमा उक्त बिनासकारी भाइरस नियन्त्रणमा आएको थियो । 

आजभन्दा १०१ बर्ष अगाडि नेपालको अवस्था कस्तो थियो होला ? सहजै अनुमान गर्न सकिन्छ । राणा शासनको अन्धकार कालमा न यातायातको सुबिधा थियो, न त आमसञ्चार नै थियो । त्यसका वाबजुद पनि नेपाली युवाहरु भने बृटिश र भारतीय सेनामा थिए । उनिहरुले पनि प्रथम बिश्वयुद्धमा लडेका थिए र युद्ध सकिएपछि छुट्टीमा नेपाल आउँदा स्पेनिश फ्लु लिएर आएका थिए । यद्यपी संक्रमित र मृत्युको यथार्थ तथ्यांक पाइदैन। एउटा अनुमान अनुसार त्यतिबेला ८-१० हजार नेपालीहरुको मृत्यु भएको थियो। 

कोरोना भाइरस गत जेठ २३, २०७७ देखि चिनको वुहानबाट शुरु भई आजको दिनसम्ममा कुल संक्रमित संख्या ७३,५७,२९४ छ भने मृत्यु संख्या ४,१४,४७६ पुगेको छ ।