फिचर

शुक्रबारबाट निजी सवारी जोर विजोर प्रणालीमा

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएको छ । यससँगै अब शुक्रबारबाट सर्वसाधारणले निजी सवारी साधन लिएर सडकमा निस्कन पाउने भएका छन् । जोर बारका दिन जोर नम्बर प्लेट र बिजोर बारका दिन बिजोर नम्बर प्लेटका सवारी चलाउन पाइने गरी सरकारले नियम बनाएको छ । शुक्रबार जोर दिन भएकाले जोर नम्बर प्लेटका सवारी साधन चल्नेछन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार एक जिल्लाबाट अर्को जिल्लामा जान नपाईने गरी निर्णय भएको छ । जिल्ला भित्र पनि जोर र बिजोर प्रणालीमा मात्र सवारी चलाउन पाइने भएको छ ।

उपत्यकाको हकमा तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानिएको छ । पास लिएका निजि सवारी साधनले पनि अब जोर विजोर प्रणालीमा मात्र सवारी चलाउन पाउनेछन् । सरकारले चार पाङ्गे सवारी साधनमा चालकसहित ३ जना र दुई पाङ्गे सवारी साधनमा चालक मात्र हुनु पर्ने नियम समेत ल्याएको छ । अब एउटै परिवारका मानिस पनि मोटरसाइकलमा जोडी चढ्न नपाउने भएका छन् ।

अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधन बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म भने चलाउन नपाइने नियम बनाइएको छ । सरकारले निजी सवारीलाई मात्र चल्ने अनुमति दिएका कारण सार्वजनिक यातायातका साधन भने चलाउन पाइने छैन । उपत्यका भित्रने वा जिल्लाको नाका काट्न भने पास अनिवार्य रहेको छ ।