रोचक खवर

जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने, के गर्छिन् सरिता गिरी ?

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले निसान छापमा रहेको नेपालको नक्सा परिवर्तन गर्ने प्रयोजनका लागि हुन लागेको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने भएको छ । सरकारले संसदमा पेश गरेको नेपालको संविधान संशोधन दोस्रो विधेयकको पक्षमा मतदान गर्ने निर्णय पार्टीले गरेको छ ।

जसपा पदाधिकारीको शुक्रबारको बैठकले नेपालको संविधानको अनुसूची ३ संशोधन गर्न संसदमा प्रस्तुत भएको ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक’को पक्षमा मतदान हाल्ने निर्णय गरेको हो । दलको उक्त निर्णयसँगै अब सांसद सरिता गिरीतर्फ निसाना केन्द्रित भएको छ । उनले संविधान संशोधनको विपक्षमा प्रस्ताव दर्ता गरेकी छिन् ।

पार्टीले यो प्रस्ताव फिर्ता लिन आग्रह गरेको छ । तर, उनले मानेकी छैनन् । शुक्रबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले भने सांसदहरुलाई ह्वीप नै जारी गर्ने निर्णय गरेको छ । पार्टीले अब संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सदस्यहरुलाई ह्‍विप जारी गर्नेछ। शनिबार बिहान ११ बजे पार्टीको संसदीय दलको बैठक बस्दैछ ।

भारतले मिचेको नेपालको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सालाई आधिकारिकता दिने सरकारको प्रस्ताव दुईतिहाइ बहुमतसहित पारित हुने निश्चित छ । किनकी नेकपासहित कांग्रेसले यसको पक्षमा मतदान गर्ने निर्णय लिइसकेका छन् ।

तेस्रो ठूलो दलसमेत यसको पक्षमा आएको हो । सरिता गिरीले संशोधनको सूचना फिर्ता नलिए सांसद पदबाट नभई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्न सक्ने चेतावती पार्टीले दिइसकेको छ ।