समाचार

अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा जारी भएसँगै अब अतिक्रमित भूभाग फिर्ता गर्न भारतसँग वार्ता प्रक्रिया अगाडी बढ्ने बताएका छन् । शनिबार संविधान विधेयक प्रतिनिधिसभाबाट पास भएको छ । उक्त बैठक सकेर निस्कने बेला संचारकर्मीलाई दिएको संक्षिप्त प्रतिक्रियामा उनले अब भारतसँग वार्ता थाल्ने बताएका हुन् ।

अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन भएपछि अब भारतसँग वार्ताको काम अघि बढ्ने उनले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा देश एकजुट भएको यो क्षण राम्रा पक्ष भएको भन्दै भारतसँग चाँडै वार्ता गरिने बताए । आज सिंगो देश एक भएको प्रधानमन्त्रीको भनाई छ ।

महाकाली सन्धीका प्रखर पक्षधर ओलीलाई उक्त समयमा भएको गल्ची सच्याउने मौकाका रुपमा पनि नयाँ नक्साको विषय आएको छ । यसलाई राजनीतिक दाउपेचको मात्र मुद्दा नबनाउन प्रधानमन्त्रीलाई सबैले सुझाव दिइरहेका छन् ।