स्वास्थ्य

गण्डकीमा एकाबिहानै थपिए १८ कोरोना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा सोमबार १८ जना कोरोना भाइरसका नयाँ संक्रमित पुष्टी भएको छ । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित देखिएका हुन् । अब यो प्रदेशमा कुल संक्रमित २२३ पुगेको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले दिएको जानकाी अनुसार गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेर समूहका ७ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उता, गोरखाकै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका दुई जना पुरुषमा पनि कोरोना देखिएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका चार जना पुरुषमा कोरोना संक्रमण पाइएको छ । पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक–एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै भारतबाट आएका नेपाली हुन् ।

उनीहरु क्वारेन्टिनमा रहेको बताइएको छ । नेपालभर पछिल्लो समय तिब्र गतिमा संक्रमण बढिरहेको छ । देशभर ६३ सय बिरामी पुगिसकेका छन् । त्यसमध्ये १ हजारले रोगलाई जित्न सफल भएका छन् ।