स्वास्थ्य

रौटहतबाट एकै दिन १३७ जना कोरोना संक्रमित डिस्चार्ज

रौटहत । नेपालमा रौतहटबाट मात्र एकै दिन १३७ जना कोरोना संक्रमितले कोरोनालाई जित्न सफल भएका छन् । उनीहरुको अन्तिम पटकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । रौतहटको परोहा नगरपालिकामा स्थापित आइसोलेसनमा बसेका ६१ जना र राजपुर नगरपालिकामा स्थापित आइसोलेसनमा बसेका ७६ जना संक्रमित डिस्चार्ज भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका अनुसार यो अहिलेसम्मकै ठूलो संख्यामा भएको डिस्चार्ज हो । यसअघि रौतहटको गरुडा नगरपालिकामा रहेको प्रहरी विद्यालयको आइसोलेसनबाट ११० संक्रमित निको भएर घर फर्किएका थिए । रौतहटमा अहिलेसम्म २४७ जनाले कोरोनालाई जित्न सफल भइसकेकाछन् ।

यसअघि नेपालमा पछिल्लो २४ घण्टामा ११७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएका थियो । संक्रमितको संख्या थपिँदै जादा कोरोनालाई जित्नेको संख्या पनि उल्लेख्य बढिरहेको छ । नेपालमा २५ घण्टामा ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले नेपालमा संक्रमितको संख्या ६ हजार ५ सय ९१ जना पुगेको छ । नेपालमा सोमबारसम्म १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।