बिचार

न्युयोर्क सहर छाडेर जानेको हकमा

योगेश आदी

जहाँ बस्यो त्यहींको चासो र सरोकार बढी हुन्छ । न्युयोर्कको समाचार बनेपछि कतिपयले मलाई फोन गर्छन वा सम्झन्छन् । न्यूयोर्कबाट अन्त बसाई सर्ने मानिसहरुको गत एप्रिल महिनामा मात्र ८१ हजार ओटा ‘ठेगाना परिवर्तन सम्वन्धि अनुरोध’ प्राप्त भएको सुचना अमेरिकाको हुलाक बिभागले निकालेपछि सनसनी फैलिएको छ । मेरो चासो भने न्युयोर्कका नेपाली समुदायमा गएर अडियो । हालसालै न्युयोर्क बसाई सरेर जानेहरुको नाम गन्न थालें । दुबै हातको औंलाहरु सकियो । चिनेजानेका केहीले कोरोनालाई दोष दिएर न्युयोर्क छोडेका थिए । खैर, विविध कारण होलान् । मानिस सहज जीवनको खोजीमा देश नै छोडेर परदेश पुग्छन् भने परदेशकै एक भागबाट अर्को भागमा जानु खासै तात्विक फरक देखिन । यद्यपी नयाँ ठाउँमा बसाई सर्ने निर्णय लरतरो भने होइन ।

अमेरिकामा सबैभन्दा बढी नेपालीहरु बस्ने सहर अझैपनि ‘न्युयोर्क’ नै  हुनुपर्छ सायद । ५० हजार नेपाली रहेको अनुमान छ । जनगणना २०२० को तथ्यांक निकट भविष्यमा आएपछि अझ एकिन हुनेछ । आप्रवासीहरुको पहिलो रुची रेल, बस र कामको सहजताको हिसाबले सुरुमा ठुला सहर हुने गर्दछ, जुन जायज देखिन्छ । स्थापित र बिस्थापित ठुला सहरको विशेषता भएकोले न्युयोर्क जस्तो सहरको उतार चढाव अनौठो मान्नुपर्ने देखिदैन । तथापी अमेरिकाकै अब्बल हेल्ककेयर सिस्टम मध्येको एक र कहिल्यै बोरिङ् नहुने गतिशील सहर छाडेर मानिस किन अन्यत्र गए होलान् ?  उत्तर, तर्क र बितर्क अनेक बन्लान तर मानिस आफ्नै ‘मर्जीको मालिक’ हुन्छ । परिवर्तन सांसरिक नियम हो ।

न्युयोर्कलाई रुची र अरुचीको कसीमा तौंलिदा संसारकै राजधानी मानिने न्युयोर्क सुन्दरताको दृष्टिकोणले अग्रपंतीमा आउँछ । संसारको २५ ओटा युवा आकर्षित र लक्षित सहरहरुको सुची तयार पार्दा क्यानाडाको टोरोण्टो र जर्मनीको बर्लिनसँग हारेर न्युयोर्क तेश्रो स्थानमा रहेको छ । अर्थात संसारको उत्कृष्ट मानिएका अन्य २२ सहरहरु भन्दा न्युयोर्क अगाडि देखियो ।
कौतुहलता बढ्दै गर्दा न्युयोर्कबाट सर्ने र न्युयोर्क भित्रिने जनसंख्यालाई सरसर्ती हेरें ।  न्युयोर्क भित्रिनेको तथ्यांक भने ठोस भेटिन तर छाडेर जानेहरुको सयौं समाचार र तथ्यांक भेटें । तर आश्चार्य तब लाग्यो, जब न्युयोर्कको जनसंख्या भने एकाध वर्ष बाहेक बढेको बढ्यै रहेछ । सहरको जनसंख्या बढ्नु केन्द्रिकरणको ढाँचामा जानु हो भने सहर बाहिर र आसपासको जनसँख्या बढ्नु भनेको बिकेन्द्रिकरणको अवधारणाले काम गर्नु हो । न्यूयोर्क जस्तो सहरबाट मानिस नफैलिने हो भने न्युयोर्क पनि संसारकै सबैभन्दा खराब ट्राफिक भएका सहरहरु मनिला, बोगाटा, मुम्बई र सान पाउलो जस्तो बन्ने निश्चित थियो ।

अन्तमा; मेरो ११ वर्षको न्युयोर्क सहरको अनुभवमा न्युयोर्क सहर भौतिक दृष्टिकोणले कयौं गुणा सुन्दर बनेको देखेको छु । सामाजिक दृष्टिकोणले मैत्री भोगेको छु । साँस्कृतिक थप माहोल सहिष्णु महसुस गरेको छु । राजनीति मेरो रुची नभएकोले आर्थिक दृष्टिकोणले भने ११ बर्ष अगाडि भन्दा ७० प्रतिशतले घरभाडा बढेको । घरको मुल्य १०० प्रतिशतले बढेको । इन्धन, सरसामानको मुल्य करिब ३० प्रतिशतले बढेको । रेल, बस भाडा १०० प्रतिशतले बढेको । ट्याक्सी भाडादर उस्तै वा घटेको । खाद्य सामग्री २० प्रतिशतले बढेको महसुस गरेको छु । 

मैले यसै पृष्ठभुमीमा के महसुस गरें भने अधिकाँश मानिस सस्तोमा खुला ठाउँ सहित आफ्नै घरको सपना लिएर सर्दो रहेछ । किन्ने क्षमता भएको वा बनाएकोहरु सयौं नेपालीले न्युयोर्कमा घर किनेका पनि छन् । कहाँ कसरी रमाउने भन्ने रुची र रहर आआफ्नो ।