रोचक खवर

विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने प्रावधानको विपक्षमा कांग्रेस, जुटेन सहमति

काठमाडौं । नेपाली कांग्रेसको असहमतिका कारण नागरिकता विधेयकमा आज पनि सहमति जुट्न सकेन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विदेशी बुहारीलाई नेपालमा बिहे भएको ७ वर्षपछि मात्र नेपालको नागरिकता मिल्ने प्रस्ताव गरेको थियो । नेपाली कांग्रेसले भने विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको कांग्रेस पदाधिकारीको बैठकले सात वर्षपछि विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिने संसदीय समितिको प्रस्ताव नमान्ने निर्णय गरेको हो । कांग्रेसको तर्क अहिलेकै प्रावधान हुनुपर्ने रहेको छ ।

बुधबारै बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा समेत कांग्रेसले सोही प्रस्ताव दोहोर्याएपछि निर्णय हुन सकेन । वर्तमान प्रावधान अनुसार नेपाली नागरिकसँग बिहे गरेर आएपछि उसले चाहेको बेला अंगीकृत नागरिकता लिन सक्ने उल्लेख छ ।

कांग्रेसले नयाँ कानुनमा समेत सोही व्यवस्था राख्नुपर्ने अडान लिएको छ । कांग्रेसले प्रावधानमा असहमित राखेपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने विषयमा बुधबार पनि सहमति जुट्न सकेन ।

अंगीकृत नागरिकता प्राप्त नभएसम्म आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्ताव समितिको छ । नयाँ प्रावधानमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भने समर्थन रहेको छ ।

कांग्रेसले नमानेपछि सुशासन समितिले नागरिकता विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय थप गरेको छ । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई अंगीकृत नागरिकता कसरी दिने भन्ने सम्बन्धमा विवाद जारी रहँदा २ वर्षयता विधेयक रोकिराखेको छ ।