समाचार

प्रधानमन्त्रीको प्रक्षेपण : नेपालमा फागुनपछि कोरोना नियन्त्रणमा आउँछ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुनपछि नेपालमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आइसक्ने दावि गरेका छन् । प्रधानमन्त्रीका अनुसार साउनमा नेपालमा कोरोना सबैभन्दा उच्च विन्दुमा पुग्नेछ । त्यसपछि भने यसको ग्राफ ओरालो लाग्न शुरु हुनेछ । दशैं तिहार र छठजस्ता चाडमा हुने भेटघाटले फेरी कोरोना केही बल्झन सक्ने उनले बताए ।

मंसिरमा अलि माथि पुग्ने ग्राफ त्यसपछि भने घट्ने उनको अनुमान रहेको छ । यस पटक चाडबाडले केही समय कोरोना बढाउने उनले उल्लेख गरे । फागुनको महिना सम्भवतः नियन्त्रणको महिना हुने प्रधानमन्त्रीको भनाई छ । यसबीचमा संक्रमितलाई सहज रुपमा आउन दिन नहुने र बाहिरबाट आउनेलाई क्वारेन्टिनमा राख्ने काम भने हुनुपर्ने उनको तर्क छ ।

बिहीबार प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपति कार्यालयको विनियोजन बजेटबारे सांसदहरुल उठाएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री राष्ट्रिय सभामा बोलेका हुन् । प्रधानमन्त्रीले कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्याका सम्बन्धमा भने फेरी पनि विवादास्पद अभिव्यक्ति दिएका छन् ।

बुधबारसम्म मृतकको संख्या २० पुगिसकेको थिए । प्रधानमन्त्रीले भने दुई\तीन जना मात्र कोरोनाका कारण मरेको गैरजिम्मेवार अभिव्यक्ति दिए । अन्य कारणले मृत्यु भएपनि कोरोना संक्रमणको पुष्टि भएपछि कोरोनाबाट भएको मृत्युमा राख्नुपर्ने डब्ल्यूएचओको प्रोटोकलका कारण यस्तो भएको उनको तर्क छ ।

२० जना पनि अन्य देशको तुलनामा निकै कम भएको भन्द्यै नेपालको उपचार विधि र प्रतिरोधी क्षमताका कारण मृत्युदर ज्यादै न्यून भएको समेत तर्क दिन भ्याए । सरकारले राम्रो तयारी गरेका कारण संक्रमित नियन्त्रित मै रहेको र भारतबाट संक्रमित आएका कारण नेपालमा स)ख्या बढेको उनको तर्क थियो ।

यति ठूलो संख्यामा आएका मानिसलाई विश्वको कुनै पनि देशले मापदण्डअनुसार क्वारेन्टिन गर्न नसक्ने भन्दै फेरी पनि प्रधानमन्त्री दायित्वबाट उम्कन खोजेका छन् । व्यवस्थित क्वारेन्टिन स्थलहरू बनाउन मात्र पनि एक वर्ष लाग्न सक्ने उनको तर्क छ । भारतबाट थाम्न नसक्ने गरी मानिस आएको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले विदेशमा भएका नागरिकको उद्धार समेत भने जस्तो सजिलो नभएको तर्क दिए । यसरी ल्याउनेहरूमा कोरोना संक्रमण छ छैन परीक्षण गर्नुपर्ने भए पनि ओमनबाट ल्याउने क्रममा अलमल बनाइएको भन्दै दुख व्यक्त गरे ।

प्रधानमन्त्रीले कोभिड–१९ रोकथाम र नियन्त्रणमा खर्च भएको १० अर्बको हिसाब खोज्नेसँग फेरी पनि रोष प्रकट गरे । उनले १० अर्ब तल्लो तहमा गएको, क्वारेन्टिन बनेको र उनीहरुलाई खाना खुवाउने काममा खर्च भएको तर्क दिए ।