फिचर

बिहीबार चार देशबाट आए ५ सय बढी नेपाली, दिनभर १४ उडान-अवतरण

काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामान्य दिनको तुलनामा केही व्यस्त रह्यो । नेपाली नागरिकलाई विदेशबाट नेपाल ल्याउने अभियान अन्तर्गत विदेशबाट जहाज आउन गालेपछि विमानस्थलमा समेत चहलपहल बढेको हो । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले सार्वजनिक गरेको विवरण अनुसार बिहीबारमात्र आन्तरिक र बाह्य गरी कुल १४ वटा उडान-अवतरण भएका छन् ।

बिहीबार हिमालय एयरलाइन्सले मलेसियाबाट ११७ जना नेपालीलाई नेपाल ल्याएको छ । यो जहाज मलेसिया जादा भने एकजना नेपाली र १५ विदेशी गरी १६ जना यात्रु मलेसिया लगेको छ । बिहीबार नै जजिरा एयरले कुवेतबाट नेपालीलाई घर फर्काएकोछ । सलाम एयरले ओमानबाट नेपालीलाई काठमाडौं ल्याएको हो ।

यी दुई जहाजमा क्रमशः १५० र १४६ जना यात्रु आए । कतार एयरवेज समेत बिहीबार काठमाडौं आयो । यो जहाजले दोहाबाट एक जना नेपालीलाई बोकेर आएको थियो । उसले नेपालमा रहेका २६३ जना विदेशीलाई दोहा लगेको छ । बिहीबार साँझ हिमालय एयरलाइन्सको जहाज दमाम उठेको छ ।

यो जहाज शुक्रबार फर्कने छ । बिहीबार साँझ नै नेपाल एयरलाइन्स दुबई उडेको छ । हिमालय एयरलाइन्सले साउदी उड्दा चार जना नेपालीलाई दमाम लगेको छ । आन्तरिकमा समेत केही उडानहरु भएको विमानस्थलले जनाएको छ ।