समाचार

‘लकडाउन सम्बन्धी सुरक्षा मापदण्ड जारी, राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक'

काठमाडौं  । कोरोना भाइरस संक्रमण संख्या बढ्दैगएपछि उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ ।

सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।

जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णयगरेसँग राति सुरक्षाकर्मीलाई छलेर एक जिल्लाबाट अर्को जिल्लामा अनुमति बिना यात्रु ओसारपसार हुन थालेपछि थप कडाई गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले सुरक्षा निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

सरकारले असार १ गतेदेखि सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखबाहेक ७३ जिल्लाभित्र निजी सवारी साधनमा जोरविजोर प्रणाली लागू गरेको छ ।

मालसामान ढुवानी गर्दा चालक र सहचालक बाहेक कसैलाई पनि बोक्न नपाइने व्यवस्था ल्याइएको छ ।

उद्योग/कलकारखानालगायत कार्यस्थलमा एक स्थानमा एकपटकमा १० जनाभन्दा बढी भेला हुन पाइने छैन । सामाजिकरसांस्कृतिक कार्यमा १५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ ।