समाचार

सोमबारदेखि दोश्रो चरणमा खुल्दै छ न्युयोर्क; न्युजर्सी र कनेक्टिकट पनि खुल्दै

न्युयोर्क

गत मार्च महिनाको मध्यदेखि बन्द रहेको न्युयोर्क सहरमा अब सोमबार दोश्रो चरणको अर्थतन्त्र खुला हुँदैछ । गत ८ तारिख पहिलो चरणमा खुल्ला भएको न्युयोर्क अब सोमबार थप ब्यापार ब्यवसाय संचालन गर्न मिल्ने गरी खुल्ला गर्न लागिएको हो । सोमबार दोश्रो चरणमा न्युयोर्क खुल्ला भएसंगै अब बार्बर शप, सबै प्रकारका ब्युटी ब्यबसाय (नेल्स), रियल स्टेट ब्यापार, गाडी बिक्री केन्द्र तथा भाडा गाडी ब्यवसाय, खुद्रा पसल र साथमा रेस्टुरेन्टहरु पनि खुल्ने छँन् । रेस्टुरेण्टको हकमा भने भित्र बसेर खाने छुट दिईने छैन ।  रेस्टुरेन्टले बाहिर सिटिङको ब्यबस्था मिलाएको अवस्थामा मात्र ग्राहकलाई बसेर खाने ब्यबस्था हुनेछ । न्युयोर्क सिटीले दोश्रो चरणको अर्थतन्त्र खुल्ला गरेसँगै अब न्युयोर्क सहरमा काम गर्ने करिब ३ लाख मानिस रोजगारीमा फर्किने छन् ।  

न्युजर्सी : 

न्युजर्सी गभर्नर फिल मर्फीले पनि सोमबारदेखि राज्यमा बार्बर शप र ब्युटी पार्लरहरु खुल्ने बताएका छन् । तर उनले राज्यमा बसोबास गर्नेहरुलाई होसियारी पूर्वक सुरक्षाका सबै सँयन्त्र प्रयोग गर्न पटक पटक सुचित समेत गरेका छन् । न्युजर्सीमा जुन २१ तारिख आईतबार बाबुको मुख हेर्ने दिनदेखि नै नर्सिङ होम, पर्सनल केयर होममा आफन्त भेटघाट गर्न खुल्ला हुनेछ । न्युजर्सी राज्यमा हालसम्म १२ हजार ८३५ जनाको कोभिड -१९ का कारण मृत्‍यु भै सकेको छ ।  

कनेक्टिकट :   

न्युयोर्क नजिकैको अर्को राज्य कनेक्टिकट बुधबारदेखि दोश्रो चरणमा खुला भै सकेको छ । मार्च १७ तारिगदेखि बन्द भएका रेस्टुरेण्ट, जिम, सिनेमा घर समेत कनेक्टिकटमा खुला गरिएका छन् ।  बुधबारदेखि कनेक्टिकटका करिब ९५ प्रतिशत ब्यापार खुल्ला भै सकेका छन् ।  कनेक्टिकटमा शुक्रबारसम्म ४ हजार २ सय ३८ को मृत्‍यु भै सकेको छ ।