स्वास्थ्य

नेपालमा रसुवाबाहेक सबै जिल्लामा फैलियो कोरोना

काठमाडौं । नेपालमा रसुवाबाहेक सबै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । केही दिन अगाडीसम्म अधिकांश हिमाली जिल्ला सुरक्षित रहेकोमा अब भने हिमाली भेगका समेत रसुवाबाहेक सबै जिल्लामा कोरोना भेटिएको हो । पछिल्लो समय ओखलढुंगामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै अब रसुवा मात्र सुरक्षित देखिएको छ ।

नेपालमा एक सातामा ३ हजार २ सय ६६ जना सङ्क्रमित थपिए । अहिले नेपालमा देशभर ९ हजार २६ जना कोरोना भाइरसको संक्रमित पुगिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ ।

नेपालमा २३ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । ३२ जेठमा रुकुमपश्चिममा संक्रमण देखिएसँगै माथिल्लो भेगमा संक्रमण पुष्टि हुन थालेको थियो । त्यसपछि क्रमशः मनाङ, मुस्ताङ र ओखलढुंगामा समेत कोरोना भेटिएको छ । मुस्ताङमा ८३ वर्षिय वृद्धमा शनिबार कोरोना सङ्क्रमण देखिएको हो ।

आइतबार ओखलढुंगामा एक जनामा पुष्टी भएको छ । अब नेपालभर ७६ जिल्लामा कोरोना भाइरस पुगेको छ । नेपालमा अहिलेसम्म १ हजार ७ सय ७२ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।