विज्ञान प्रविधि

पर्यटनमन्त्री सहभागी वेवनारमा अश्लिल भिडियो बजेपछि...

काठमाडौं । सोमबार सामाजिक संजाल एक रमाइलो समाचारका कारण तात्यो । त्यो थियो पर्यटन मन्त्री योगेश भट्टराईलाई कसैले अश्लिल भिडियो देखायो । सन्दर्भ हो, नेपाल पर्यटन बोर्डले आयोजना गरेको टूरिजम पोर्टोकल सार्वजनिक गर्न आयोजना भएको अनलाइन सम्मेलन ।

जुम सफ्टवेयर प्रयोग गरी करीव २ सय जना सहभागी भएको बैठकमा जब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन थाले, त्यसपछि अकस्मात स्कृनमा अश्लिल भिडियो आइपुग्यो । भिडियो देखाउने मानिसले तथानाम म्यासेज लेख्यो, जुन सबै सहभागीले सजिलै पढ्न सक्थे । त्यसपछि आयोजकले बैठक सम्पन्न गर्यो ।

देशको मन्त्री नै सहभागी भएको बैठकमा देखिएको यो हर्कतलाई धेरैले मजाक बनाएपनि यसले नेपालको सूचना प्रविधिमा सरकारी उदासिनताको एक उदाहरण भने पेश भएको छ । नेपाल पर्यटन बोर्डले वेवनारमा सहभागी हुन भन्दै आइतबारदेखि जुम बैठकको लिंक सामाजिक संजालमा राखेको थियो ।

सम्भवतः सोही लिंकबाट एक्सेस लिएर ह्याकरले बैठकमा यो हर्कत गरेको हुन सक्ने आंशका गरिएको छ । बोर्डले यस घटनाप्रति माफी माग्दै छानविन प्रक्रिया शुरु भइसकेको बताएको छ ।

पछिल्लो समय जुम सफ्टवेयरका सम्बन्धमा उपभोक्ताबाट यस प्रकारका गुनासा धेरै आएका छन् । लकडाउनका बेला यो सफ्टवेयर सामुहिक छलफलका लागि भने निकै उपयोगी सावित भइरहेको छ ।