समाचार

प्रधानमन्त्रीको यूरोप भ्रमण असफल : देउवा

काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपि शर्मा ओलीको यूरोप भ्रमण असफल भएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्रीको यूरोप भ्रमणले देशलाई कुनै उपलब्धी नदिएको बताए । भ्रमणका क्रममा कुनै सहमति नभएकोले भ्रमण असफल भएको उनको ठम्याई छ ।

यसपटक प्रधानमन्त्रीको बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री थेरेसा मेसँग गोर्खा भर्तीबारे त्रिपक्षीय सन्धीबारे कुरा उठाएका थिए । तर, संयुक्त वक्तव्यमा भने त्यसबारे उल्लेख छैन।

देउवाले राजीनामा दिइसकेकी प्रधानमन्त्री मेले कुनै दीर्घकालीन सम्झौता गर्न नसक्ने अवस्थामा प्रधानमन्त्री बेलायत गएको उल्लेख गरे । फ्रान्समा पनि राष्ट्रपतिले भेटै नदिएको भन्दै प्रधानमन्त्रीप्रति कटाक्ष गरे ।

१७ वर्षअघि प्रधानमन्त्रीका रूपमा देउवा बेलायत भ्रमणमा गएका थिए। त्यसपछि बेलायत भ्रमण गर्ने ओली पहिलो प्रधानमन्त्री हुन्।

मंगलबार कांग्रसले संसदमा देखाएको बिरोधका सम्बन्धमा स्पष्ट पार्दै देउवाले आफूले शुरुमै बोल्ने अनुमति मागेपनि प्रधानमन्त्रीले पेलेर जान खोजेको आरोप लगाए ।