फिचर

भतिजीको किताब प्रकाशन रोक्न अदालत गुहारे ट्रम्पले

न्यूयोर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भतिजीको किताब प्रकाशन हुनबाट रोक्न माग गर्दै अदातल पुगेका छन् । ट्रम्पको चाहना बमोजिम उनका भाइ रोबर्ट एसले भतिजी मेरी एल ट्रम्पको किताब प्रकाशन रोक्न माग गर्दै मंगलबार अदालतमा जाहेरी दिएका हुन् ।

राष्ट्रपति ट्रम्पका वकिल चार्ल्स हार्डर मार्फत रोबर्टले दायर गरेको मुद्दामा मेरीले गोपनियता भंग गर्दै किताब प्रकाशन गर्न लागेको हुँदा रोकि पाउन माग गरिएको अमेरिकी मिडियाले जनाएका छन् । मेरीले ट्रम्प पारिवारिक भूमिकाबारे किताबमा चर्चा गरेको जनाइएको छ । उनका वकिल टेड बोउट्रोउसले सार्वजनिक जानकारीका लागि अत्यावश्यक सूचना लुकाउन ट्रम्पले अदालत गुहारेको बयान दिएका छन् । उनी अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सफल वकिल मानिन्छन् ।

‘उनीहरुले अदालतबाट यो गैर कानूनी आदेश माग्नुको तात्पर्य उनीहरु अमेरिकी जनतालाई सत्य जान्ने अधिकारबाट टाढा राख्न चाहन्छन्, उनले भनेका छन्- अदालतले संविधानको पहिलो संसोधनमाथि यति ठूलो प्रहार स्वीकार्ने छैन ।’ प्रकाशक सिमन एण्ड स्हुस्टरका अनुसार किताबमा ट्रम्पको परिवार भित्रको उद्यण्ड चित्रण गरिएको छ । मनोवैज्ञानिक मेरी ट्रम्पकी एक मात्र भतिजी हुन् । जुलाईमा सार्वजनिक हुने उनको किताब ‘टु मच एण्ड नेभर इनफः हाउ माई फेमिली क्रिएट द वर्ल्ड’स मोष्ट डेन्जरस मेन’ अहिले नै प्रकाशोन्मुख कृती सूचीमा एमाजोनमा एक नम्बरमा रहेको छ । एमाजोनमा किताब जुलाई २८ मा उपलब्ध हुने जनाइएको छ ।

किताब प्रकाशन हुँदा परिवारको अन्धकार इतिहासमा चकिलो प्रकाश पर्ने प्रकाशकको भनाइ छ । किताबले लेखकका काका कसरी आज संसारकै जनस्वास्थ्य, आर्थिक सुरक्षा र सामाजीक सद्भावका लागि गम्भिर चुनौती बन्ने गरि उदाए भनेर प्रष्ट्याउने जनाइएको छ । मेरी राष्ट्रपति ट्रम्पका एकमात्र दाजु फ्रेड जुनियरकी छोरी हुन् । फ्रेड जुनियरको रक्सीको कुलतका कारण सन् १९८२ मा ४२ बर्षकै उमेरमा मृत्यु भएको थियो । मेरीले आफ्ना हजुरबुबा फ्रेड र काका डोनाल्डले पिता फ्रेड जुनियरप्रति गरेको अन्याय एवं दुर्व्यवहार किताब मार्फत उजागर गर्न चाहेको बताइएको छ ।

क्वीन्स सिटी सरोगेट अदालतमा रोबर्ट ट्रम्पले दायर गरेको रिटमा मेरीले किताब लेखेर पिताजी फ्रेड ट्रम्पको सम्पत्ति बाँडफाँड सम्बन्धि गोप्य पारिवारिक सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । आफ्ना दाजु डोनाल्डको सफलता प्रति मेरी बाहेक परिवारका सबै खुसी रहेको र उनले पैसाका लागि पारिवारिक सूचना सार्वजनिक गर्न खोजेको समेत उनको दावी छ ।

अमेरिकामा अदालतले किताब प्रकाशन रोकेको उदाहरण छैन । यसअघि ट्रम्पले आफ्ना पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको किताब प्रकाशन रोक्न अदालत गुहारेका थिए । तर, अदालतले त्यसलाई स्वीकारेन र बोल्टनको किताब ‘द रुम ह्वेर इट ह्याप्पेण्ड’ मंगलबार बजारमा आइ सकेको छ ।

(तस्वीरः बिजनेश इनसाइडर)