फिचर

बुधबार १ हजार नेपाली घर फर्किए

काठमाडौं । बुधबार विभिन्न मुलुकबाट १ हजार जना नेपाली घर फर्किएका छन् । ६ देशबाट ९ सय ९९ जना नेपाली स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कोरोना भाइरसको संक्रमणका बीच विदेशमा रोकिएका र अलपत्र परेका नेपालीको उद्दारको काम अहिले भइरहेको छ ।

बुधबार साउदीको दमामबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ जना नेपाली घर फर्किए । साउदीकै जेद्दाबाट नेपाल एयरलाइन्सले २५५ जनालाई नेपाल ल्याएको छ । जेद्दाबाट एउटा शव पनि नेपाल आएको छ । हिमालय एयरलाइन्समार्फत यूएईको आबुधाबीबाट ३ बालबालिकासहित १४९ जना घर फर्किए ।

कुवेतबाट १५५ जना र मलेसियन एयरको कार्गो लिएर आएको जहाजमार्फत चार जना नेपाली घर आए । टर्कीको राजधानी इस्तानाबुलबाट टर्किस एयरलाइन्सको चार्टर्ड जहाजमार्फत २८२ जना नेपाली घर आएका छन् । बुधबार मात्र कुल १४ अन्तर्राष्ट्रिय उडान भएका छन् ।

६ वटा चार्टर्ड जहाज नेपाली लिएर काठमाडौं आए । बुधबार नै कतारको दोहा, यूएईको आबुधाबी, कुवेत र जापानको नारितामा नेपाली लिन जहाज उडेका छन् । बुधबार कुल १३ वटा अन्तर्राष्ट्रिय उडानको तालिका तय भएको छ ।