समाचार

कोरोना संक्रमणमा अमेरिकामा नयाँ रेकर्ड; एकै दिन ३६ हजार ३ सय ५८ संक्रमित

न्युयोर्क

अमेरिकामा आज बुधबार आजसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । बुधबार मात्र अमेरिकामा ३६ हजार ३ सय ५८ संक्रमित भेटिए । यो संख्या गत अप्रिल २६ तारिख एकै दिन भेटिएका ३६ हजार २ सय ८५ संक्रमितलाई उछिने पछि अमेरिकामा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य बिज्ञहरुले अमेरिकाको दक्षिण र पश्चिम राज्यहरुले गत मेमोरियल डे पछि राज्यहरुको अर्थतन्त्र क्रमश: खुल्ला गर्दै गएको कारण यति ठुलो संख्यामा संक्रमितहरु बढन थालेको बताएका छन् । अमेरिकाकै उत्तर पूर्वी राज्यहरुमा भने कोरोना संक्रमितको संख्यामा गिरावट आईरहेको राज्यका अधिकारीहरुले बताएका छन् । अनुहारमा मास्क हातमा पंजा र सामाजिक दुरीको पालन गरेका कारण उत्तर पूर्वीय राज्यहरुमा संक्रमण घटेको उनिहरुको दाबी छ ।  

बुधाबार न्युयोर्क न्युजर्सी र कनेक्टिकट राज्यका गभर्नरहरुले अमेरिका कै संक्रमितहरु बढ्दै गएका दक्षिण र पश्चिम राज्यहरुबाट भ्रमण गर्ने सबैलाई अनिबार्य २ हप्ताको क्वेरन्टिन गर्नु पर्ने घोषणा गरेका छन् । अमेरिकामा बुधबारसम्म २३ लाख ८० हजार ४ सय ५२ संक्रमित र १ लाख २१ हजार ९ सय ६९ को मृत्‍यु भै सकेको जोन हप्किन्स युनिभर्सिटीको डाटाले जनाएको छ ।