फिचर

मेलम्चीको सपना, घरघरमा पानी आउन अझै पुरै एक वर्ष लाग्ने

काठमाडौं । मेलम्चीको पानी घरघरमा थापेर प्यास मेटाउने राजधानी बासीको अपेक्षा पुरा हुन अर्को थप एक वर्ष कुर्नु पर्ने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा बुधबार मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे जानकारी गराउँदै खानेपानी मन्त्री बीना मगरले थप एक वर्ष काठमाडौैंमा पानी नआउने स्पष्ट पारिन् ।

बैठकमा खानेपानीमन्त्री बिना मगर, मन्त्रालयका सचिव माधव बेल्बासे, खानेपानी आयोजना प्रमुख तिरेशप्रसाद खत्री लगायत उपस्थित थिए । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले मेलम्चीको पानी घरघरमा कहिले आइपुग्छ भनेर ठ्याक्कै भन्न नसकिने उल्लेख गरे । विगतमा मिति तोक्दा तोकिएको समयमा काम पुरा नहुँदा ‘फेसबुकमा भाइरल’ बनाउने काम मात्रै भएको भन्दै उउनी तर्सिए पनि ।

यसपटक मिति तोक्ने भन्दा छिटोभन्दा छिटो काम गर्नेतिर केन्द्रित भएको बताए । मन्त्री बीना मगरले भने अहिलेसम्म ९९ प्रतिशत भौतिक काम पूरा भएको बताइन् । आयोजनाको भौतिक निर्माणको काम सम्पन्न भएपछि उद्घाटनको मिति तोक्ने मन्त्री मगरले उल्लेख गरिन् ।

मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेश खत्रीले समेत ९९ प्रतिशत काम सम्पन्न भएको जानकारी गराए । उनका अनुसार सुरुङको ९९ प्रतिशत काम सकिएको छ । डीआइपाइपसहितको वैकल्पिक पानी पथान्तरण प्रणालीको काम शतप्रतिशत सकिएको छ । सुरुङ तथा पानी प्रसोधन केन्द्रबीचको जडान कार्य ९८ प्रतिशत सकिएको छ ।

पानी प्रसोधन केन्द्रमा समेत काम पुरा भएको छ । कोकर ड्याम, हाइड्रोमेकानिकल गेट ६ गोटा जडान कार्य पनि सम्पन्न भएको पनि उनले जानकारी दिए । हेडबर्क्सको काम भने ६५ मात्रै प्रतिशत सकिएको उनले बताए ।

बाँकी भौतिक काम पुस मसान्तसम्म सकिने उनले बताए । त्यसपछि परीक्षणको काम सुरु हुने आयोजना प्रमुख खत्री बताउँछन् । पानी परीक्षण सुरु भएपछि परीक्षण सम्पन्न गर्नका लागि अर्को तीन महिना लाग्ने उनको भनाई छ ।