समाचार

भारतले संक्रमितको संख्यामा रेकर्ड राख्यो; राजधानीका सबै घरमा गएर स्वास्थ जाँच गरिने घोषणा

नयाँ दिल्ली 

भारतमा पनि बिहीवार कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।  भारतमा बुधबार एकै दिन १६ हजार ९ सय २२ संक्रमित भेटिए । यो संख्या एकै दिन भेटिएका संक्रमितको सबैभन्दा उच्च हो । भारतमा बिहीवारसम्म ४ लाख ७३ हजार १ सय जना कोरोना संक्रमित भै सकेका छन् ।  केन्द्रीय स्वास्थ मन्त्रालयका अनुसार आज बिहीवार अर्को ४ सय १८ जनाको त्यहाँ मृत्‍यु भयो भने मृतकको कुल संख्या १४ हजार ८ सय ९४ पुगेको छ । मन्त्रालयले निको हुनेको दर बृद्धि भएर ५६ प्रतिशत पुगेको पनि जनाएको छ । 

भारतमा महामारी फैलिए यता दिनहुँ संक्रमितको संख्या उकालो लाग्दै गएपछि राजधानी नयाँ दिल्ली निवासी २ करोड ९० लाख मानिस सबैको स्वास्थ जाँच गरिने घोषणा गरिएको छ । राजधानी नयाँ दिल्लीमा मात्र ७० हजार ३ सय ९० संक्रमित भेटिए पछि सरकारी अधिकारीहरुले दिल्लीबासी प्रत्येकको स्वास्थ जाँच गरिने बिहीवार घोषणा गरेका हुन् । आगामी जुलाई ६ तारिख भित्र दिल्लीका प्रत्येक घर र अपार्टमेन्टमा पुगेर सबैको स्वास्थ जाँच गरी सक्ने स्वास्थ अधिकारीहरुले जनाएका छन् ।  भारतमा दैनिकरुपमा २ लाख मानिसमा कोरोना परिक्षण गरिने गरिएको र हालसम्म ७३ लाख मानिसमा परिक्षण गरी सकिएको पनि स्वास्थ मन्त्रालयले जनाएको छ ।