रोचक खवर

चीनसँग सीमा विवाद नरहेको सरकारको स्पष्टोक्ती

काठमाडौं । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्ट पारेको छ । यसअघि केही संचारमाध्यमले चीनसँग विभिन्न स्थानमा सीमा विवाद रहेको समाचार प्रकाशित गरेका थिए । यसलाई नियतवश प्रकाशित गरिएको भन्दै सामाजिक संजालमा आलोचना समेत भएको थियो ।

खासगरी भारतसँगको सीमा विवाद चर्किने समयमा हरेक पटक चीनलाई समेत जोडेर नेपालमा समाचार प्रकाशित हुने गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयबाट त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको जानकारी आएको उल्लेख गरेको छ ।

कृषि मन्त्रालयका अनुसार सीमासम्बन्धी विषय आफ्नो क्षेत्राधिकारमा नपर्ने जानकारी आएको समेत परराष्ट्रको विज्ञप्तिमा बताइएको छ । हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ हुँदै नभएको समेत स्पष्ट पारेको हो । प्राकृतिक अवस्थितिका कारण दुई देशबीचको सहमतिमा मै स्तम्भ नराखिएको परराष्ट्रले स्पष्ट पारेको हो ।

नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम नै रहेको उल्लेख गरेको छ । सीमासम्बन्धी केही समस्या देखिएमा दुई देशबीचको समझदारीमा समाधान हुने परराष्ट्रको विज्ञप्तिमा लेखिएको छ ।

कृषि मन्त्रालयले समेत बिहीबार विज्ञप्ति जारी गरी नेपाल र चीनबीच सीमा विवाद भनी उल्लेख गरिएको समाचारमा आधार बनाइएको प्रतिवेदन मन्त्रालयबाट प्रकाशित नै नभएको उल्लेख गरेको थियो ।

मन्त्रालयले उक्त समाचारको खण्डन गर्दै प्रतिवेदन यस मन्त्रालयबाट प्रकाशित नै नभएको र सोसम्बन्धी विषय मन्त्रालयको कार्य क्षेत्रसमेत नभएकाले भन्दै समाचारमा सत्यता नरहेको उल्लेख गरेको थियो ।