रोचक खवर

नेपालमै छन् २१ हजार विदेशी शरणार्थी

काठमाडौं । नेपालको पहिचान गरिब मुलुकका रुपमा छ । पूर्वाधार विकास र सुशासनमा देखिएको कमीका कारण नेपालले लामो समयदेखि यो दर्जा पाउनु परेको हो ।

तर, स्वयमः नेपालले विभिन्न ११ देशमा २१ हजार शरणार्थीलाई पालिरहेको छ । संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसीआर)का अनुसार नेपालमा अहिले २० हजार ८ सय ८ जना विदेशीले शरणार्थीका रुपमा नेपालमा जीवन बिताइरहेका छन् ।

बुधबार स्वीट्जरल्याण्डको जेनेभामा आयोगको प्रतिवेदन सार्वजनिक भयो । प्रतिवेदन अनुसार नेपालमा आश्रय खोजेपनि युएनएचसीआरले प्रमाणपत्र नदिएका ५५ जना र युएनएचसीआरको निगरानीमा ५४३ जना विदेशी नेपालमा बसिरहेका छन् ।

युएनएचसीआरका अनुसार नेपालमा भुटान र तिब्बतबाट सबैभन्दा धेरै विदेशी शरणार्थी बसिरहेका छन् । भुटानबाट आएका ६ हजार ५ सय र तिब्बतका करिब १४ हजार शरणार्थी नेपालका विभिन्न भागमा बसेका छन् ।

नेपालमा भटानी शरणार्थीको संख्या अधिक थियो । तर, १ लाख १३ हजार भुटानी शरणार्थीलाई तेस्रो मुलुक स्थानान्तरण गरेका कारण नेपालमा शरणार्थीको संख्या घटेको हो ।

यी दुई बाहेक सोमालिया, म्यानमार, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, इरान, इराक, कंगो र बंगलादेशका नागरिक शरणार्थीका रुपमा नेपालमा बसेका छन् । विश्वभर शरणार्थीको संख्या ७ करोड पुगेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।