समाचार

मेयर ब्लाजियोले राष्ट्रपति ट्रम्पकै निवास अगाडि पोत्ने भए 'ब्ल्याक लाइफ म्याटर'; ट्रम्प असन्तुष्ट

न्युयोर्क

न्युयोर्कको म्यानह्याटनस्थित राष्ट्रपति डोनाल्ड ट्रम्पको आफ्नै स्वामित्वको भवन अगाडिको बाटोमा ठुलो अक्षरमा ‘ब्ल्याक लाईफ म्याटर’ पेन्ट गर्ने मेयर बिल दि ब्लाजियोको योजनामा राष्ट्रपति ट्रम्पले असन्तुष्टी जनाएका छन् । मेयर ब्लाजियोले ट्रम्प भवन अगाडिको फिफ्थ एभेन्युमा ब्ल्याक लाईफ म्याटर पेन्ट गर्ने घोषणा जुन महिनाको सुरुवातमा नै गरेका थिए भने राष्ट्रपति ट्रम्पले बिहीवार ट्विटर मार्फत असन्तुष्टी जनाएका हुन् । ट्रम्पले आफ्नो ट्विटरमा मेयर ब्लाजियोले उनको ट्रम्प टावर अगाडि ब्ल्याक लाईफ म्याटर पेन्ट गर्न लागेको बिषय उपर लेखेका छन्; “मेयर ब्लाजियो ट्रम्प टावर अगाडिको सुन्दर फिफ्थ एभेन्युमा ठुलो अक्षरमा ब्ल्याक लाईफ म्याटरको नारा लेख्न चाहन्छन् । ‘पिग्स् ईन ए ब्ल्यान्केट फ्राई ईम लाईक बेकन’ जस्ता प्रहरी प्रति घृणा फैलाउने नारा बोकेको अभियानसँग न्युयोर्क प्रहरी धेरै क्रोधित भएका छन्” । राष्ट्रपति ट्रम्पले ट्विटर मार्फत असन्तुष्टी जनाए पछि मेयर ब्लाजियोले भनें; ‘विकृत मानसिकता भएको मान्छेले मात्र ब्ल्याक लाईफ म्याटर शब्दलाई हिँसासँग जोडेर व्याख्या गर्दछन्’ ।

“ब्ल्याक लाईफ म्याटर” अभियानको गत महिना मिनियासोटा राज्यमा आयोजित प्रदर्शनीमा प्रहरी लक्षित घृणाका त्यस्ता नारा लगाईएका थिए, तिनै घृणाका नारालाई ट्रम्पले बिहीवार ट्विटमा लेख्दै; ‘ब्ल्याक लाईफ म्याटर’ प्रति असन्तुष्टी ब्यक्त गरेका हुन् ।

प्रहरी कस्टडीमा जर्ज फ्लोएडको मृत्‍यु भएपछि अहिले अमेरिकी सहरका सडकमा ‘ब्ल्याक लाईफ म्याटर’ पेन्ट गर्न सुरु गरिएको छ । 

यस अघि राजधानी वासिङ्टन डिसिस्थित ह्वाईट हाऊस जाने बाटोमा पेन्ट गरिएको थियो भने न्युयोर्कको ब्रुकलिनको सडकमा पनि यो अभियान पेन्ट गरी सकिएको छ ।मेयर ब्लाजियोले पेन्ट गर्ने योजना गरेको सडकसँगैको ट्रम्प टावर गत बर्षसम्म राष्ट्रपतिको अधिकारीक निवास थियो ।  हाल ट्रम्पले आफ्नो निवासको आधिकारिक  ठेगाना फ्लोरिडा बनाए पनि उनको बिशाल ब्यपारिक साम्राज्यको कार्यालय भने अझै पनि त्यही भवनमा छ ।