फिचर

घट्यो पुनर्निर्माणको लागत, अब ६ खर्ब ३० अर्ब मात्र

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणको लागत घटाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता तथा सहजीकरण समितिले लागत अनुमान संशोधन गरी ६ खर्ब ३० अर्बमा लाग्ने अनुमान गरेको हो ।

यसमध्ये चालु आवको अन्त्यसम्म कूल २ खर्ब ९१ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आगामी आव ०७६\७७ का लागि पुनर्निर्माणको बजेट १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन भएको छ ।

यसअघि पुनर्निर्माणको बजेट ९ खर्ब ३८ अर्ब रुपैयाँ अनुमान भएको थियो ।

विपद्पछिको पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी पञ्चवर्षीय योजनाले पुनर्निर्माण र पुनस्र्थापनाका सबै काम सम्पन्न गर्न ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो ।

बुधबार बसेको विकास सहायता तथा सहजीकरण समितिको बैठकले प्राधिकरणले पेश गरेको ‘नेपालको पुनर्निर्माण र पुनस्र्थापनामा ६ खर्ब ३० अर्ब रुपैयाँ लाग्ने संशोधित अनुमान र कार्यक्रम’ स्वीकृत गरेको प्राधिकरणले उल्लेख गरेको छ ।

 

बैठकमा दातृ निकाय तथा विकास साझेदार संस्थाहरुले पनि विपद्पछिको पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी पञ्चवर्षीय योजनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार खानेपानी, सडक, पुल लगायत सरकारका नियमित निकायबाट गरिने पुनर्निर्माण र गैरसरकारी संस्थाहरुबाट गरिने पुनर्निर्माणको बजेट अब प्राधिकरणको बजेटमा जोडिने छैन ।

विभागीय मन्त्रालयबाट हुने पुनर्निर्माणलाई प्राधिकरणको बजेटमा नसमेटिएका कारण पुनर्निर्माणको लागत घटेको हो ।

प्राधिकरणले आगामी वर्ष नेपालले पुनर्निर्माण तथा पुनस्र्थापनामा प्राप्त गरेको उपलब्धी, अनुभव र सिकाईलाई अन्तरराष्ट्रिय समुदायसम्म पुर्‍याउन पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।