विज्ञान प्रविधि

सलह किरा नेपाल छिर्यो, समिक्षा गर्दै सरकार

काठमाडौं । बिनासकारी सलह किरा नेपाल छिरेको छ । सरकारी अनुमान फेल खुवाउँदै भारतबाट किराको झुण्ड नेपाल छिरेको हो । स्थानीय बासिन्दाका अनुसार बारा र सर्लाहीबाट सलहको झुण्ड नेपाल छिरेको हो । कृषि मन्त्रालयले समेत यसको पुष्टी गरेको छ । यसअघि मन्त्रालयले अब नेपालमा सलहको संक्ट टरेको बताएको थियो । तर, त्यसअनुमान विपरित सलहको झुण्ड नेपाल आएको हो ।

भारतको बिहारबाट सलह नेपाल छिरेको छ । यससम्बन्धमा सरकारले आज समिक्षा गर्ने भएको छ । सलह नेपाल छिरेपछि यसले पुर्याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा आज समिक्षा हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आज आकस्मिक बैठक डाकिएको छ ।

कृषि विकासका स्थानीय अधिकारीले सर्लाही र बारामा सलहको एक झुण्ड देखिएको जानकारी कृषि मन्त्रालयलाई गराएका थिए । त्यो झुण्ड कति ठूलो समूहमा छ भन्ने बारेमा भने सोधखोज भइरहेको बताइएको छ । पूर्व अफ्रिकाबाट शुरु भएको सलहको यात्रा मध्यपूर्व हुँदै दक्षिण एसिया छिरेको हो । पाकिस्तान र भारतमा अन्न बालीमा क्षति गरेको यो किरा अब नेपालसम्म आइपुगेको हो ।

हावाको दिशा नुसार १ सय ३० किमिसम्म समूह बनाएर उड्न सक्ने फट्यांग्रा प्रजातीको यो किरा एक समुहमा ४ देखि ८ करोडसम्म हुने गर्छ । तर, नेपालमा भने त्यति ठूो समुह नआएर हावाको बेगले बगाएको सानो समुह मात्र आउन सक्ने अनुमान छ ।

यो समूहले एकै दिन ३५ हजार मानिसले खाने बराबरको खाना नष्ट गर्ने कृषि वैज्ञानिकहरुको भनाई छ ।