विज्ञान प्रविधि

सलह भित्रिसकेपछि नियन्त्रणको योजना बनाउदै सरकार

काठमाडौं । शनिबारबाट नेपालमा सलह किराको प्रवेश भएको छ । फट्यांगा प्रजातिको यो किरा बालीनालीका लागि भने विनासकारी मानिन्छ । यो किराको नियन्त्रण गर्न बल्ल सरकार तातेको छ । सलह किरा नियन्त्रणबारे योजना बनाउन आज कृषि मन्त्री घनश्याम भुषालले विज्ञहरुसँग छलफल गर्दैछन् ।

कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सम्मेलित टोलीको बैठक बस्न लागेको मन्त्रालयले जनाएको छ । नेपालमा भारत हुँदै बारा र सर्लाहीबाट सलह छिरेको छ । रुपन्देहीबाट समेत ठूलो झुण्ड छिरेको छ ।

आइतबार बिहान पाल्पा, मकवानपुर, सिन्धुली, काभेलगायत पहाडी जिल्लामा समेत सलह उक्लिसकेको छ । यसअघि कृषि मन्त्रालयले गठन गरेको प्राविधिक समितिले तत्कालका लागि नेपालमा सलहको जोखिम टरेको निष्कर्ष निकालेको थियो । तर, सरकारको अनुमान विपरित सलह नेपाल छिरेको हो ।

पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलहको ठूलो झुण्ड राजस्थानमा पुगेपछि तितरवितर भएको बताइको थियो । नेपालमा यो किराबाट भएको क्षतिको समेत अझै अध्ययन भइसकेको छैन । नेपालमा ६० वर्षपछि सलह छिरेको हो ।