स्वास्थ्य

कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले जिते कोरोना

सुर्खेत । कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । उनीहरुलाई विभिन्न अस्पतालबाट शनिबार डिस्चार्ज गरिएको छ । यो सूचिमा दैलेखबाट मात्र २०५ जना सङ्क्रमित निको भएको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । निको हुनेमा २०१ पुरुष र १३ महिला छन् ।

दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १२९ पुरुषगरी १३२ जनाले कोरोनालाई जित्न सफल भएका छन् । दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष डिस्चार्ज भए ।

दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एक, एक जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको तथ्यांकमा उल्लेख छ ।

शनिबार २१४ ले कोरोना निकोभएसँगै अहिलेसम्म कर्णालीमा कोरोना सङ्क्रमणलाई जित्ने बिरामीको संख्या ९३४ पुगेको छ ।कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या भने एक हजार ४४० पुगेको छ । तर, निको हुने दर बढी रहेका कारण कर्णालीमा ठूलो जोखिम भने देखिएको छैन ।