समाचार

विश्वभरका समलिंगीहरुको आस्थाको केन्द्र स्टोन वाल मदिरालयको अस्तित्व संकटमा

न्युयोर्क

न्युयोर्क म्यानह्याटनस्थित एक प्रतिकात्मक समलिंगी मदिरालय (मधुशाला) स्टोन वाल जँहाबाट ५१ बर्ष पहिले समलिंगी अधिकारको आन्दोलन सुरु भएको विश्वास गरिन्छ, आज त्यो मदिरालयको अस्तित्व संकटमा परेको छ । चर्चित पर्यटकीय क्षेत्र ग्रिनविच भिलेज क्षेत्रमा संचालित स्टोन वाल कोरोना महामारीको कारण खर्च अभाब भए पछि बन्द गर्नु पर्ने अवस्थामा पुगेको हो ।  

महिनौं बन्द भएर पुन संचालन गर्न अहिले मदिरालयले चन्दा संकलनको बाटो रोजेको छ । अनलाईन चन्दा संकलनकर्ता एजेन्सी गो फण्डमीमा ‘स्टोन वाल ईन’ ले दुई वटा खाता सुरु गरेको छ । स्टोन वालले चन्दा उठाउन  गो फण्ड मिमा खोलेको दुई वटा खाता मध्ये ‘मदिरालय संचालन खर्च’ को एउटा खातामा २ लाख ३३ हजार अमेरिकी डलर उठाईसकेको छ भने ‘कर्मचारी सहयोग’ नाम दिईएको अर्को खातामा ३६ हजार डलर संकलन गरिसकेको छ ।  

स्टोन वालकी सह-मालिक स्ट्यासी लेन्जले समलिंगिहरुको प्रतिकात्मक मदिरालयको अस्तित्व संकटको बिषयमा भनेकी छिंन्; ‘तिन महिनासम्म कुनै पनि आम्दानी बिना मदिरालय (बार) को अस्तित्व बचाउनुले भबिष्यमा के हुने हो थाहा छैन । यो  ऐतिहासिक मदिरालयले झेल्नु परेको कठिन परिस्थितीको बारेमा सबैले थाहा पाउनु पर्ने हाम्रो सोचाई छ । सन् १९६९ को समलिंगी अधिकारको आन्दोलन पछि स्टोन वाल मदिरालयले राष्ट्रिय मान्यता पाउँदै आएको छ ।  संसारभरका मानिस बीच परिचित स्टोन वाल एउटा मदिरालय र मनोरञ्जनको थलो भन्दा पनि समलिंगी आन्दोलनको एउटा सम्मानित स्थलको रुपमा चिनिन्छ ।  

समाचार श्रोत : एबिसि ७ न्युयोर्क