मनोरञ्जन

आज धान दिवस, दही च्यूरा खाँदै रोपाई गर्ने दिन

काठमाडौं । आज नेपाली कृषकका लागि महान दिन हो । सरकारले धान दिवसका रुपमा घोषणा गरेको यो दिन रोपेको मानो मंसिरमा मुरी भएर उब्जनी हुन्छ । सोहीकारण आज कृषकको सम्मानमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका दिन आज सरकारले रौटहटमा विशेष कार्यक्रम हुनेछ ।

उक्त कार्यक्रममा भाग लिन कृषि मन्त्री धनश्याम भुषाल सो क्षेत्रमा लागेका छन् । आजै रोपाइँ गदौ खाजामा दही च्यूरा खाने प्रचलन समेत रहेको छ । सरकारले २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालेको हो । यस वर्ष कोरोना महामारीले गर्दा पूर्ण रौनकका साथ रोपाई गर्न पाइने छैन ।

सामाजिक दूरी कायम गर्दै रोपाईमा भाग लिनु पर्ने भएको छ । कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दुरी कायम राखी धान दिवस मनाइने कृषि विभागको तयारी छ ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

यस वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा २५ प्रतिशत रोपाइँ सकिइसकेको कृषि विभागले जनाएको छ ।