समाचार

सुस्मिताका लागि जब आफ्नै भान्साकोठा र आफन्त काल बनेर आए...

हेटौडा । दुई साता अगाडी मकवानपुरस्थित आफ्नै घरको भान्सा कोठामा मृत भेटिएकी सुस्मिता थापाको घरकै परिवारबाट क्रुर हत्या भएको खुलेको छ । परिवारका सदस्यको मिलेमतोमा हत्या भएको प्रहरीले सोमबार जानकारी गराएको छ । प्रहरीले दुई साता लामो अनुसन्धानपछि मकवानपुरबाट सुस्मिताका सासू, ससुरा र दुई नन्दलाई घटनामा संलग्न रहेको आरोपमा सार्वजनिक गरेको छ ।

२२ वर्षिय सुस्मिताको परिवार मिलेर आफ्नै भान्सा कोठामा हत्या भएको खुलेको हो । प्रहरीले मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ वर्षीया दूर्गा र २३ वर्षीया नन्द सीता थापालाई पक्राउपछि सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार सुस्मिताका श्रीमान रुपेन्द्र थापा कपिलवस्तु सशुराली पुगेर हेटौडा फर्कने क्रममा मोटरसाइकल दूर्घटनामा परेका थिए । यो २६ असोज २०७६ को दिन थियो । उनको मृत्युपछि बुहारीकै कारण छोराको मृत्यु भएको भन्दै हरेक दिन बुहारीमाथि परिवारले टोकसो गर्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

त्यसक्रममा ससुराले बुहारीमाथि यौन दूब्र्यब्वहारसमेत गर्ने गरेको घिनलाग्दो हर्कतसमेत प्रहरीले अनुसन्धानका दौरान फेला पारेको छ । प्रहरीका अनुसार एकातर्फ छोराको मृत्युमा बुहारीको कारण देखेका परिवारले अर्कोतर्फ छोराको मृत्युपछि आउने बीमा रकममा समेत विवाद भएको प्रहरीको भनाई छ ।

रुपेन्द्रको सवारी दुर्घटनामा मृत्युपछि क्षतिपूर्तिबापत दश लाख रुपैयाँ आएको थियो । यो रकम उनका बाबु प्रकाशले लिएको प्रहरीले जनाएको छ ।

उता, रुपेन्द्रले काम गर्ने क्लोजर सिस्टम इन्टरनेसनल नेपालबाट पाउने बिमा, बोनस र तलबवापतको ३८ लाख २८ हजार रुपैयाँमा समेत बुबा प्रकाशले एकलौटी दावी गरे । तर, यो रकमको हकदार भने बाबु प्रकाश, आमा तुलसा र पत्नी सुस्मिता समेत थिइन् । सुस्मितालाई रकम नदिने र सबै रकम हत्याउने नाममा परिवार नै मिलेर बुहारीको हत्याको योजना बनाएको निष्कर्षमा प्रहरी पुगेको छ ।

सो क्रममा ससुरा प्रकाशले सुस्मितामाथि पटकपटक जबरजस्ती करणीको समेत प्रयास गरेको प्रहरीले जानकारी गराएको छ ।

प्रहरीका अनुसार १ असारमा सुस्मितालाई खाना खाइरहेको समयमा ससुरा प्रकाशले लठ्ठीले टाउकोमा हिर्काएका थिए । त्यसपछि भुईमा लडेकी उनलाई नन्द सीता थापाले लोहोरो प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन् । बाबुछोरीले बुहारीको हत्यागरेपछि आत्महत्या भएको देखाउन रगत पुछ्नेदेखि कपडामा लागेको रगत सफा गरेको प्रहरी अनुसन्धानले खुलेको छ । कोठामा भित्रबाट चुकुल लगाएर झ्यालबाट बाहिर निस्केका बाबुछोरीले सुमिस्ताले आत्महत्या गरेको दावी गरेका थिए ।