समाचार

नेकपामा बुधबार छुट्टाछुट्टै भेला र दौडधुप, बिहीबार के नतिजा आउला ?

काठमाडौं । बुधबार नेकपाको स्थायी समिति बैठक छोटो समय बस्यो । ५ जना मात्र वत्ताले आज बोले । बोलेका मध्ये धेरैले प्रधानमन्त्रीको राजिनामा माग गरे । संकटमा परेको सरकारलाई पार्टी भित्रैबाट राजिनामा माग भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान आफु निकटका मन्त्री र नेकपाका दोस्रो तहका नेतासँग छलफल गरे ।

छलफलमा नेताहरुले नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई एकता प्रक्रियामा प्रभाव नपर्ने गरी नेतृत्वसँग सहमति गनए सुझाव दिएका थिए । सत्ता संकटमा परेपछि पछिल्ला केही दिन प्रधानमन्त्रीले दौडधुप बढाएका छन् । बुधबार नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यको समेत छुट्टै भेला भएको छ ।

उनीहरु ललितपुरको एक होटलमा भेला भएका हुन् । बिहीबार बस्ने स्थायी समितिमा बनाउने रणनीतिबारे छलफल गर्न यो भेला भएको बताइएको छ । भेलामा प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, गृहमन्त्री रामबहादुर थापा लगायत नेता पुगेका छन् । नेकपाको बैठक असार १३ गतेदेखि जारी छ ।

मंगलबार बसेको स्थायी समितिमा १८ स्थायी समिति सदस्यमध्ये १७ सदस्यले ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि प्रधानमन्त्रीको पद संकटमा परेको हो ।

यसअघि प्रधानमन्त्री ओलीले गत आइतबार बालुवाटारमा एक कार्यक्रममा आफूलाई भारतको इसारामा हटाइन लागेको र त्यसमा नेपालका नेताले साथ दिएको अभिव्यक्ति दिएपछि उनीविरुद्ध पार्टी भित्रै आलोचना शुरु भएको हो । स्थायी समिति बैठक बिहीबार समेत बस्नेछ ।