समाचार

योग्य हङ्कङ्बासीलाई बेलायतको नागरिकता दिने प्रधानमन्त्री जोन्सनको भनाई

एजेन्सी

ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले बुधबार ३० लाख हङ्कङबासीलाई बेलायतको नागरिक बन्ने सुबिधाको प्रस्ताव गरेका छन् । चीनले मंगलवार हङ्कङमा लागू गरेको नयाँ राष्ट्रिय सुरक्षा कानूनपछि प्रधानमन्त्री जोनसनले बेलायत आउन योग्य ३० लाख हङकङ नागरिकलाई यो प्रस्ताव गरेका हुन् । जोनसनले बुधबार हाऊस अफ कमन्समा  बोल्दै उनले आफुले ३० लाख हङ्कङवासीलाई बेलायत ल्याउने प्रस्ताव अगाडि बढाउन लागेको बताएका थिए ।  

बेलायत युरोपियन युनियन सम्बद्द देशहरु र संयुक्त राज्य अमेरिकाको बिरोधको बाबजुद चीनले हङ्कङमा जारी आन्दोलनलाई निस्तेज पार्न नयाँ सुरक्षा सम्बन्धि कानून मंगलवार पास गरेको थियो भने बुधबार हङ्कङमा झन्डै २ सय प्रदर्शनकारीलाई पक्राऊ गरिएको छ । बेलायतस्थित बिदेश मन्त्री डोमिनिक रावले एक टेलिभिजन  अन्तर्वार्तामा चीले जारी गरेको नयाँ सुरक्षा कानूनका बिषयमा भनेका छन्; ‘हङ्कङको स्वसाशनको ठाडो उलंघन भएको छ भने त्यहाँका जनताको स्वतन्त्रता माथि खतरा भएको छ’ ।

प्रधानमन्त्री जोन्सनले हङ्कङमा बसोबास गर्ने ब्रिटिश नेशनल ओभरसिज (बिएनओ) पासपोर्ट बाहकलाई नयाँ सुरक्षा कानूनले आन्दोलनमा प्रदर्शन गरेको बहानामा आजीवन काराबासको सजाय हुने भन्दै बेलायतमा स्वागत गर्ने बताएका हुन् ।