समाचार

अब कोरोनाको परीक्षण निजी प्रयोगशालामा समेत, तीन अस्पतालले पाए अनुमति

काठमाडौं । अब नेपालमा निजी प्रयोगशालाबाट समेत कोरोना परीक्षण हुने भएको छ । सरकारी प्रयोगशालालाले नमुनाको चाप धान्न नसकेपछि निजीमा जाने निर्णय सरकारले गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले तीन निजी प्रयोगशालालाई पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षणको अनुमति दिइएको छ ।

अनुमति पाएका प्रयोगशालाले परीक्षणको लागि आवश्यक सरसामान र उपकरणको जोहो भने आफै गर्नपर्छ । मन्त्रालयका अनुसार काठमाडौं मेडिकल कलेज, स्टार हस्पिटल र सेन्ट्रल डाइग्नोस्टिक ल्याबोरोटरीले कोरोना परीक्षणको अनुमति पाएका छन् । अब प्रयोगशालामा बढी भएका नमूनाहरू निजी प्रयोगशालामा परीक्षण गरिनेछ। कुन परीक्षण निजीमा गर्ने भन्ने निक्यौल भने मन्त्रालय आफैले गर्ने भएको छ ।

सरकारले अन्य निजीलाई समेत अनुमति दिएर एकै दिन ठूलो संख्यामा नमुना परीक्षण गर्ने तयारी गरेको हो । अझै ७ वटा निजी प्रयोगशालालाई सरकारको अनुमति दिने तयारी गरेको छ । सरकारले करीव डेढ दर्जन प्रयोगशालाबाट परीक्षण गरिरहेको छ ।

केही साता अघि स्वास्थ्य मन्त्रीले दैनिक १० हजार पिसीआर परीक्षणको नतिजा सार्वजनिक गर्ने बताएका थिए । अहिले दैनिक करीव ७ हजार हाराहारी मात्र नतिजा आइरहेको छ । त्यसमा औसतः ५ सय जना नयाँ संक्रमित थप भइरहेका छन् ।