समाचार

प्रधानमन्त्रीबाट दुबै पद नछाड्ने अडान, के हुन्छ अब ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र नेकपाको अध्यक्ष दुबै पद नछाड्ने अडान दोहोर्याएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको छ । राष्ट्रपतिसँग मिलेर सुटुक्क संसद अधिवेशन स्थगित गरेका प्रधानमन्त्रीले पार्टी फुटाउने गरी फेरी अध्यादेश ल्याउने तयारी गर्न लागेको आशंका गरिएको छ ।

नेकपाको स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ । बिहीबार प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटेका छन् भने अर्को अध्यक्ष प्रचण्डले समेत राष्ट्रपतिसँग भेट गरेका छन् । सभामुख र पार्टीलाई समेत वेवास्था गरी संसद अधिवेशन अत्न्य गरेपछि प्रचण्ड र माधव नेपाल फेरी चिढिएका छन् । यता, प्रधानमन्त्रीले भने प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने अडान आज पनि दोहोर्याएका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै भारतले आफूलाई पदबाट हटाउन खोजेको र त्यसमा नेपालका नेताले साथ त्यसमा लागेको अभिव्यक्ति दिएलगत्तै नेकपाको विवाद सघन बनेको हो । बिहीबार विभिन्न चरणका बैठकमा ओलीले आफ्नो अडान छाडेनन । जसले गर्दा अन्य नेता सशंकित बनेका हुन् ।

बिहीबार दिनभर बालुवाटार र शीतल निवासको दौडधुपपछि प्रचण्ड र नेपाल पक्षका नेताहरू अब पार्टी एकता लामो समय नजाने निष्कर्षमा पुगेको बताइएको छ । सोहीकारण ओलीले पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याउने तयारीमा रहेको र उक्त प्रयोजनका लागि संसद बैठक स्थगित गरेको तर्क नेताहरुले गरेका छन् । संसद बैठक अकास्मात बन्द गरिएकोप्रति भने विपक्षी दलहरुले समेत विरोध गरेका छन् । प्रधानमन्त्री स्थायी समिति बैठकमा गएका छैनन् । तर, बैठक उनकै निवास बालुवाटारमा बसिरहेको छ ।