फिचर

नेपाली सैनिक बोकेर अफ्रिका पुग्ने भयो नेपाल एयरलाइन्स

File Photo

काठमाडौं । नेपाली सैनिकको एक टोली लिएर नेपाल एयरलाइन्सको जहाज अफ्रिकी मुलुकमा जाने भएको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा खटिने नेपाली सेनाको टोली लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज उड्ने भएको छ । उडान २४ असारमा हुनेछ ।

जहाज २५ असारमा काठमाडौं फर्कने तालीका छ । नेपाल एयरलाइन्सका अनुसार यी दुई मुलुकमा हुने उडानका सम्बन्धमा नेपाली सेना र नेपाल एयरलाइन्सबीच बिहीबार सम्झौता भएको हो । जहाज काठमाडौंबाट सैनिक लिएर सुरुमा कतारको राजधानी दोहा पुग्नेछ । त्यहाँ इन्धन थप गरी जहाज सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्नेछ ।

नेपालबाट गएका केही सैनिक त्यहाँ झर्नेछन् भने केही सैनिक लिएर विमान फेरि माली पुग्नेछ । मालीमा सैनिक झारेपछि विमान काठमाडौं फर्किनेछ । यसअघि नै शान्ति मिसनका लागि ती देशमा पुगेका नेपाली सैनिक सोही विमान चढेर स्वदेश फर्किनेछन् ।

ती मुलुकबाट नेपाल फर्कन सैनिकको संख्या भने कम रहेको नेपाल एयरलाइन्सले उल्लेख गरेको छ ।