विश्व

सन्दिपपछि अब सोमपाल पनि विदेशी लीगमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामी पहिलो पटक विदेशी फ्रेन्चाइजी लीगमा आवद्ध भएका भएका छन् ।

उनलाई क्यानडामा हुने ग्लोबल टी-२० लीगमा विनिपेग हक्सले टोलीमा आवद्ध गरेको हो । बिहीबार क्यानडा ग्लोबल टी-२० को ड्राफ्टमा सोमपाललाई न्यूनतम ३ हजार अमेरिकी डलरमा हक्सले आवद्ध गरेको हो ।

यस लीगमा अर्का क्रिकेटर सन्दिप लामिछाने भने गत वर्षबाटै आवद्ध भएका थिए । यस वर्ष उनको मूल्य पनि उल्लेख्य बढेको छ । स्पिनर सन्दीप लामिछाने ६० हजार अमेरिकी डलरको न्यूनतम रकममा टोरन्टो नेसनल्समा आबद्ध भएका छन् ।

सोमपालले खेल्ने टिममा डेविड वार्नर, ड्वायन ब्राभो, डेविड मिलर, लेन्ड्ली सिमोन्सजस्ता विश्वचर्चित खेलाडी छन यस टोलीको प्रशिक्षक वकार युनिस हुन् ।

नेपाली राष्ट्रिय टिमका मुख्य बलर सोमपाल यसअघि क्यारेबियन प्रिमियर लिग र बगलादेश प्रिमियर लिगको ड्राफ्टमा परे पनि छनोट भएका थिएनन् ।

हाल राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका सोमपाल लामो पर्खाइपछि विदेशी फ्रेन्चाइजी लिग खेल्ने भएका छन ।

उनी आईसीसीको वरीयतामा समेत नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट १ सय खेलाडी भित्र अटाएका खेलाडी हुन् ।

उनी अलराउण्डरको भूमिकामा आफ्नो क्षमता देखाइसकेका क्रिकेटर हुन् । उनको नाममा नेपाली टिमका लागि एकदिवसीय खेलमा ६ विकेट आइसकेका छन् ।

यता सन्दीपलाई टोरन्टो नेसनल्सले टिममा अनुबन्ध गरेको हो । लसिथ मालिङ्गा, सुनील नारायन, ड्वायन स्मिथ, दिनेश रामदिन, सिकन्दर राजा जस्ता खेलाडी सन्दीपको टीममा छन् । यस टीमको प्रशिक्षक टम मुडी हुन् ।

सन्दीप दुई साता अगाडिमात्र क्यारेबियन प्रिमियर लिगमा ७० हजार डलरमा अनुबन्धित भएका थिए