विश्व

कानपुरमा गोली हानेर ८ प्रहरीको हत्या

काठमाडौं । भारतको कानपुरमा ८ जना प्रहरीलाई गोली हानेर मारिएको छ । भारतको उत्तरप्रदेशस्थित कानपुर जिल्लामा यो घटना भएको हो । बिहीबार राति करिब एक बजे अज्ञात समूहले घरको छतबाट प्रहरी टोलीमाथि अन्धाधुन्द गोली चलाएको थियो । भारतीय संचारमाध्यमका अनुसार गाउँमा एक जना अभियुक्तलाई पक्राउ गर्न जाँदा यो घटना भएको हो ।

एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ जना प्रहरी मारिएको प्रहरीले पुष्टी गरेको छ । केही प्रहरीहरु घाइते भएको बताइएको छ । उनीहरुको कानपुरस्थित रिजेन्सी अस्पतालमा उपचार भइरहेको छ । लामो समयदेखि फरार अभियुक्त विकास दुवे नामक व्यक्ति गाउँमा आएको थाहा पाएपछि प्रहरीहरु बिकरु भन्ने गाउँ पुगेका थिए ।

प्रहरीलाई घरमा लुकेर बसेको समूहले गोली हानेको हो । आक्रमणमा अभियुक्त दुवे र उनको समुहले गरेको प्रहरीले जनाएको छ । यो समूहले प्रहरीको हतियारसमेत लुटेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आक्रमणकारीहरु विरुद्ध कारवाही हुने उल्लेख गरेका छन् । उत्तर प्रदेश प्रहरीले सबै सीमा नाका बन्द गरी अपराधीको खोजी शुरु गरिसकेको उनले जानकारी गराएका छन् । भारत विश्वमै बढी अपराध हुने मुलुकमध्ये एक हो ।