समाचार

मेक्सिकोस्थित लागू औषध सुधार केन्द्रमा गोली हानी २६ को हत्या

एजेन्सी 

म्याक्सिकोस्थित एक लागू औषध सुधार केन्द्र भित्र बुधबार केही बन्दुकधारीले गोली चलाउँदा २६ जनाको मृत्‍यु भएको छ भने ५ जना घाईते भएका छन् । मध्ये मेक्सिकोको ग्वानाहुआटो राज्यको ईरापुआटोस्थित लागू औषध सुधार केन्द्र भित्र साँझ साँढे पाँच बजेतिर केही बन्दुकधारी प्रवेश गरी सबैलाई भुँईमा घोप्टिन लगाएर गोली हानी हत्या गरिएको प्रहरीको हवाला दिंदै स्थानीय संचार माध्यमले जनाएका छन् । हत्यामा संलग्न उक्त बन्दुकधारी समुह पिकअप ट्रक चढेर सुधार केन्द्रमा आएको मेक्सिको डेलीले जनाएको छ । म्याक्सिकोमा अपराधिक समुह बीच गोली हानाहान हुनु र लागू औषध सुधार केन्द्र भित्र यस्ता प्रकृतिका घटना घट्नुलाई सामान्य मानिने गरिए पनि बुधबारको यो घटना सन् २०१८ को डिसेम्बरमा राष्ट्रपति लोपेज अब्राडोरको कार्यकाल सुरु भए यताको सबैभन्दा ठुलो घटना हो । बुधबारको उक्त घटना घटेको स्थान ग्वानाहुआटोबाट ५० किलोमिटर दक्षिणमा पर्ने एक सहरको सुधार केन्द्रमा पनि एक महिना अघि यस्तै प्रकृतिको घटना घट्दा १० जनाको मृत्‍यु भएको थियो ।म्याक्सिको मात्र होईन, अधिकांश ल्याटिन अमेरिकी देशहरुमा यस्ता हत्या र हिंसाका घटनालाई सामान्य ढंगले हेर्ने गरिए तापनि कोरोनाको महामारीपछि मेक्सिकोमा हत्याका घटनामा ब्यापक बृद्धि भएको न्युयोर्क टाईम्सले जनाएको छ । गत मार्च महिनामा मात्र मेक्सिकोमा ३ हजार वटा हत्याका घटना घटेका थिए । अधिकांश सेवा निबृत्त अमेरिकी नागरिकको बसोबासको रोजाईमा पर्ने गरेको कार उत्पादन केन्द्रको रुपमा चिनिने पर्यटकीय राज्य ग्वनाहुआटोमा मात्र पछिल्ला महिनाहरुमा मासिक औसतरुपमा १२ वटा हत्याका घटना भएका छन्। मेक्सिकोको ग्वनाहुआटोमा संचालित २६५ वटा सुधार केन्द्र मध्ये १५ वटा मात्र सरकारी स्वीकृतिमा चलेको र बाँकी सुधार केन्द्र आफु खुसी चल्ने गरेको स्थानीय नगरपालिका प्रमुख रिकार्डो वोर्टिजको हवाला दिंदै मेक्सिको डेलीले लेखेको छ ।

बुधबार साँझको घटना लगत्तै स्थानीय संचार माध्यमहरुमा प्रकाशित घटनास्थलको तस्बिरमा मानिसका घोप्टो परेको मृत शरीरको चाँङ र रक्त पोखरीको भयावह दृष्य देखिएको छ । लागू औषध सुधार केन्द्रमा भएका सबैलाई गोली प्रहार गरिएको उक्त घटनाको उद्देश्य प्रष्ट नभए पनि बिगतमा पनि ठुला लागू औषध गिरोहसँग स्थानीय साना गिरोह बीच यस्ता घटना घट्ने गरेको छ । कतिपय समय सुरक्षाका लागि यस्ता अपराधिक समुहका सदस्य सुधार केन्द्रमा लुक्ने गरेको कारण यस्ता झडप हुने गरेको छ ।