विज्ञान प्रविधि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने समय ६ महिना सारियो

काठमाडौं । भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि ६ महिना पर सरेको छ । अब यो विमानस्थल आगामी डिसेम्बरसम्म सक्ने गरी समयावधी थप भएको हो । यसअघि ३० जुन २०२० मा निर्माण सक्ने लक्ष्य यस विमानस्थल आयोजनाको थियो । तर, कोरोना भाइरसको संक्रमणका बीच आएको अवरोधले प्रभावित भएपछि यो आयोजना पर धकेलिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी डिसेम्बरसम्म भौतिक निर्माण र तयारीको काम सकिने गरी सम्झौता भएको जानकारी गराएका छन् । उनका अनुसार त्यसपछि संचालन पूर्वको तयारीमा करीव ३ महिना समय लाग्नेछ । यसरी आगामी ९ महिनाभित्र विमानस्थल व्यवसायिक सञ्चालनमा आइसक्ने भएको छ । मन्त्री भट्टराईका अनुसार यो विमानस्थलमा अहिले उपकरण जडानको काम जारी छ ।

लकडाउनपछि विदेशमा प्राविधिक कामदार रोकिएपछि रफ्तारमा काम गर्न नसकिएको उनले बताए । लकडाउनको अवधिमा विमानस्थल निर्माणमा ३ प्रतिशत भौतिक प्रगति देखिएको छ । गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति अहिले ९१ प्रतिशत पुगेको छ ।

गौतमबुद्ध विमानस्थलको भौतिक संरचनाको काम करीव सम्पन्न भएको छ । मन्त्रालयका अनुसार लकडाउनकै बीच धावनमार्ग र पार्किङ जोड्ने लिंक ट्याक्सी वे निर्माणको काम सकिएको छ ।

रनवे लाइट जडानको काम समेत अन्तिम चरणमा छ । टर्मिनल भवनमा एयर कन्डिसन तथा अन्य उपकरण जडान सम्बन्धी कार्य जारी रहेको मन्त्रालयले उल्लेख गरेको छ । मार्वल, टायल राख्ने तथा रंगरोगनको काम समेत भइरहेको छ ।

मेसिनरी र यन्त्र उपकरण आउने क्रम शुरु भएको मन्त्रालयको भनाइ छ । विमानस्थल निर्माणमा अहिले पनि २९ चिनियाँसहित २७५ कामदार खटिएका छन् । यो आयोजना नेपालको राष्ट्रिय गौरवका आयोजनामध्ये एक हो ।