विश्व

लद्दाख पुगे भारतीय प्रधानमन्त्री मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन विवादित सीमा क्षेत्र लद्दाख पुगेका छन् । उनी शुक्रबार भारतीय सेनाको विशेष विमानबाट उक्त क्षेत्रमा पुगेका हुन् । सो क्षेत्रमा खटिएका सैनिकलाई सम्बोधन समेत गरेका मोदीले अब विस्तारवादको युग समाप्त भइसकेको बताए । उनी बीना योजना सीमाक्षेत्रको भ्रमणमा पुगेका हुन् ।

यहाँ गत महिना चीन र भारतीय सैनिकबीचको मुडभेटमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । उनले मारिएका भारतीय सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गरे । यो समय विस्तारवादको नभई विकासको युग भएको भन्दै उनले विस्तारवादी शक्ति कि परास्त हुने वा पछि हट्ने बताए ।

चीनको नाम नलिई उनले चीन पछाडी हट्नु पर्ने दावी गरे । भारतीय प्रधानमन्त्री मोदी गत महिना भारतीय सैनिकको ठूलो हताहतीपछि दवावमा थिए । चीनविरुद्ध कडा कदम चाल्न डराइरहेको भन्दै उनको आलोचना भइरहेको छ । सोही सन्दर्भमा उनी अचानक लद्दाख पुगेका हुन् ।

उनले झडपका दौरान ज्यान समर्पण गरेका सैनिकले देखाएको वीरताले भारतको सौर्यबारे विश्वले सन्देश पाएको समेत उल्लेख गरे । प्रधानमन्त्रीसँगै भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरभाने र डिफेन्स स्टाफका प्रमुख जनरल बिपिन रावतसमेत लद्दाख पुगेर सैनिकलाई हौसला प्रदान गरेका छन् ।