समाचार

के राष्ट्रपति दल विशेषको विवादमा तानिन मिल्छ ?

काठमाडौं । राष्ट्रप्रमुखका रुपमा निर्वाचित भइसकेपछि दलको दायराबाट माथि उठ्नुपर्ने पद राष्ट्रपति यतिबेला नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विवादको मियो बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएका सबै कदममा आँखा चिम्लेर समर्थन गर्दै आएकी थिइन् । त्यसमाथि शनिबार प्रधानमन्त्रीले आफ्नो कुर्सीको बचाउमा अब राष्ट्रपतिलाई समेत मुछेका छन् ।

प्रधानमन्त्री निकटकै मानिसबाट शनिबार बिहानदेखि राष्ट्रपतिलाई महाअभियोगको हल्ला फिजाइएको थियो । त्यसकै साहारामा उनले साँझ मन्त्री र राज्यमन्त्रीहरुसँग बैठक गरी आफु दुई (राष्ट्रपति र प्रधानमन्त्री) विरुद्ध षडयन्त्र भइरहेको भन्दै अब कित्ताकाट गर्नुपर्ने अवस्था आएको उल्लेख गरेका थिए । त्यसका लागि तयार रहन समेत उनले मन्त्रीहरुलाई चेतावनी दिएका थिए ।

प्रधानमन्त्रीले आफ्नो कुर्सीको रक्षाका लागि धेरै कार्ड खेलिसकेका छन् । त्यसमा सबैभन्दा बलियो कार्ड अरुलाई भारत समर्थक र आफु भारत विरोधी राष्ट्रवादी नेता देखिनु थियो । सोहीकारण भारतले आफ्नो सत्ता उल्टाउन लागेको र त्यसमा नेपालका नेताले साथ दिएको अभिव्यक्ति उनले दिएका थिए । सोही अभिव्यक्तिका कारण आलोचनाको शिकार बनेका प्रधानमन्त्रलीले अब फेरी राष्ट्रपतिलाई केन्द्रमा तानेका छन् ।

नेकपाका नेताहरु यसलाई प्रधानमन्त्रीको अन्तिम अस्त्र मान्छन् । यो उपायमा पनि असफल भएमा उनी देशमा संकटकाल घोषणाको मुडमा हुनेछन् । किनकी उनले स्पष्ट भनेका छन्, म दुबै पद छाड्दिन् । प्रधानमन्त्रीले राष्ट्रपतिलाई एक पदको विवादमा तान्ने र त्यसमा राष्ट्रपतिले दिएका साथलाई भने धेरै मानिसले गणतन्त्र माथिकै प्रहारका रुपमा ब्याख्या गर्न थालिसकेका छन् ।